उपाध्यक्ष डा.लामाद्वारा बौद्ध विद्वानहरूलाई लुम्बिनीमा भ्रमण गर्न आग्रह

नयाँ दिल्ली । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)ले बौद्ध विद्वानहरूलाई भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा भ्रमण गर्न आग्रह गरेका छन् ।

भारत सरकारको आयोजनामा नयाँ दिल्लीमा भएको प्रथम एसियन बुद्धिस्ट समिट २०२४ लाई सम्बोधन गर्दै डा.लामाले बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गर्न आफूहरू सधैँ तयार रहेको बताए ।

पूर्वसांसद समेत रहेका उपाध्यक्ष डा.लामाले एसियन बुद्धिस्ट समिट जस्ता कार्यक्रमहरूले बुद्धका चार आर्य सत्य संसारभर फैलाउन र बौद्ध परम्परागतहरूको बारेमा छलफल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

डा.लामाले बौद्ध शिक्षाको माध्यमबाट एसियालाई विकसित बनाउन सकिने बताए । बुद्ध मार्गले कला, साहित्य, बस्तुकला र ध्यानको माध्यमबाट सम्पूर्ण एसियालाई जोडेको उनले बताएका छन् ।

एसियाली मूलुकहरूमा बुद्ध धर्म र बौद्ध शिक्षाको विभिन्न तरिकाले अनुशरण भइरहेको बताउँदै उपाध्यक्ष डा.लामाले एक चक्रवती राजाले धम्म शिक्षाको माध्यमबाट संसारभरि राज गरेको स्मरण गरेका छन् ।

उनले बुद्ध धर्म र बौद्ध शिक्षालाई विशेष महत्व दिएर कार्यक्रमको आयोजना गरेको भन्दै भारत सरकारलाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।

Published : Thursday, 2024 November 7, 9:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया