यातायात व्यवसायीमाथि स्थानीय तहबाट भएको ज्यादती रोक्न गृह मन्त्रालयद्वारा मातहतलाई निर्देशन

काठमाडौं । गृह मन्त्रालयले पालिकाहरूले गैरकानूनी रुपमा सडकमा कर उठाइरहेको गुनासो यातायात व्यवसायीबाट आएपछि गैरकानूनी गतिविधि रोक्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले कात्तिक दोस्रो साता ७७ वटै प्रशासन कार्यालयलाई जानकारीपत्र पठाउँदै गैरकानूनी कार्यलाई तत्काल रोक्न निर्देशन दिएको हो ।

‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (यातायात व्यवस्था शाखा)को यही कात्तिक ११ गतेको पत्रबाट राष्ट्रिय राजमार्ग–सहायक राजमार्गमा स्थानीय सरकारहरूले विभिन्न किसिमका करहरू उठाउने सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्)को २०७५ मंसिर १७ मा निर्णय भई कार्यान्वयनका लागि अर्थ मन्त्रालयबाट तयार भएको कार्ययोजनासहित सम्बन्धित निकायमा पत्राचार भएपश्चात उक्त कार्य रोकिएको सन्दर्भमा हाल विभिन्न स्थानीय सरकारहरूले कर उठाइरहेकोले उक्त कार्य रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय, निकायहरूमा निर्देशन गरिदिनु हुन भनी लेखी आएको हुँदा आवश्यक समन्वयका लागि अनुरोध छ’, गृह मन्त्रालयको आदेशमा भनिएको छ ।

यातायात व्यवसायीहरूले अवैध रूपमा कर लिएको भनेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई भेटेर कर उठाउने कार्य रोक्न ध्यानाकर्षण गराएका थिए ।

स्थानीय सरकारबाट पटके कर उठाइरहेको सन्दर्भमा त्यसलाई रोक्न यातायात व्यवसायीहरूले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

Published : Saturday, 2024 November 2, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया