सभापति शेरबहादुर देउवाज्यूले तपाईहरूको सभापतिलाई मन्त्री बनाउनु हुन्छ : सभापति बानियाँ
भक्तपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले सभापति शेरबहादुर देउवाले भक्तपुर कांग्रेसका सभापति एवम् सांसद दुर्लभ थापालाई मन्त्री बनाउनेमा विश्वास लागेको बताएका छन् ।
शनिबार भक्तपुरमा भक्तपुर कांग्रेसले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बानियाँले थापाले धैर्यता राख्नुपर्ने बताए । उनले भने, ‘दुर्लभ थापालाई आदरणीय सभापतिज्यूले मन्त्री बनाउनु भएको छभनेर भन्नु भएको भनेर कुरा मैले पनि धेरै सुने ।’
‘मलाई विश्वास छ । समय भनेको कहिँले काहिँ धैर्यता पनि हो’, बानियाँले भने, ‘राजनीतिक निरन्तरता हो । जीवन सक्रिय हो । हामीलाई विश्वास छ । आदरणीय सभापतिज्यूले तपाईहरूको जिल्ला सभापतिजीलाई मन्त्री बनाउनु हुन्छ । धैर्यता राख्नुस् ।’
कार्यक्रममा सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथिका रुपमा रहेका थिए । देउवालाई आग्रह गर्दै भक्तपुर कांग्रेसका नेताहरूले थापालाई मन्त्री बनाउन आग्रह गरेका थिए ।
सभापति बानियाँले भने, ‘कांग्रेसले संविधानको रक्षा, यो व्यवस्थाको संरक्षण, व्यवस्थाको स्थायित्वको लागि, जनताको दिगो शान्ति र समृद्धिको यात्राको लागि सुशासनयुक्त, भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने पनि नेपाली कांग्रेसले नेतृत्व लिन्छ ।’
बानियाँले भने, ‘त्यो नेतृत्वमा हाम्रो सभापतिज्यू अब अडिग भएर अगाडि बढ्नु हुनेछ ।’
सभापति बानियाँले भने, ‘संस्कृति, पर्व र परम्परालाई जगेर्ना गर्ने दायित्व कांग्रेसको हो ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया