समस्याविहीन समाज छैन, गठबन्धनमा कुनै समस्या छैन : सभापति देउवा
भक्तपुर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार अन्य पार्टीले गरेको आलोचनाबाट डराउन नहुने बताएका छन् ।
शनिबार नेपाली कांग्रेस भक्तपुरले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले प्रजातन्त्रमा आलोचनालाई स्वभाविक रुपमा लिन सुझाव दिए । प्रधानमन्त्री केपी ओलीले एक सय दिनमा राम्रो काम गरेको देउवाले बताए ।
उनले भने, ‘प्रजातन्त्रमा आलोचना हुने स्वभाविक कुरा हो । अरु पार्टीहरूले उहाँलाई आलोचना गरेका छन्, त्यसलाई खराब मान्ने कुरा छैन ।’
सभापति देउवाले शक्तिसन्तुलनलाई ध्यानमा राखेर सरकारलाई ओलीजीले अगाडि बढाउने बताए । उनले दुई पार्टीको संयुक्त सरकार बनेको र देशभरिका कार्यकर्तामा सन्तुष्टि रहेको बताए । सरकारलाई सफल बनाउन लाग्न देउवाले निर्देशन दिएका छन् ।
सभापति देउवाले भने, ‘आलोचनाहरू पनि गम्भीरताका साथ तथ्यपरक भएर अहिलेको सरकारले ध्यान दिनेछ । यो कुरामा ओलीजीलाई इन्करेज गर्नेछु, उत्साहित गराउनेछु ।’
अहिले संयुक्त सरकार बनेको र यो सरकारप्रति देशभरका पार्टी कार्यकर्ताहरू सन्तुष्ट रहेको आफूले पाएको सभापति देउवाले बताए । उनले भने, ‘मैले बुझेअनुसार देशभरकै पार्टीका साथीहरू अहिले खुसी छन् ।’
‘उहाँहरूको चाहना पनि यो सरकारलाई पूरा समयसम्मका लागि सफल पार्नका लागि सबै साथीभाइले मलाई पनि भनिराख्याछन्’, सभापति देउवाले भनेका छन् ।
देउवाले गठबन्धनमा कुनै समस्या आए कांग्रेस त्यसको समाधानका लागि तयार रहेको समेत बताएका छन् ।
‘समस्याविहीन समाज छैन, समस्याविहीन ठाउँ छैन भने ठूला पार्टीमा आउने झन् समस्या हुन्छन्’, सभापति देउवाले भने, ‘त्यसकारण समस्या समाधान गर्न हामीहरू लाग्नुपर्छ । हाम्रो पार्टीबाट त्यसका लागि कुनै पनि अवरोध हुने छैन ।’
सभापति देउवाले भक्तपुरमा नेमकिपाले मनपरी गर्न नमिल्ने बताए । उनले नेमकिपालाई सबैसँग सहकार्य गरेर अगाडि बढ्न सुझाव दिए ।
कार्यक्रममा भक्तपुर कांग्रेसका सभापति एवम् प्रतिनिधि सभाका सांसद दुर्लभ थापा, नेपाली कांग्रेस बागमतीका सभापति ईन्द्रबहादुर बानियाँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डनयमन्त्री बद्रीप्रसाद पाण्डे लगायतका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कांग्रेसका नेता कार्यकर्ताले रक्तदान समेत गरेका थिए । उल्लेख्य संख्यामा रक्तदान गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया