रनवे ६ घण्टा बन्द भएको थियो, ट्याक्सी वे मर्मत गर्न प्रदीपले किन १० घण्टा विमानस्थल बन्द गराउन लागे ?

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पर्यटन व्यवसायी र सरोकारवालाहरूको सुझावलाई बेवास्ता गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मर्मतका नाममा १० घण्टा बन्द गर्ने निर्णय गराएपछि आलोचना भइरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई होटल र पर्यटन व्यवसायीहरूले विभिन्न बिकल्पसहितको सुझाव दिएका थिए । मन्त्री पाण्डेले व्यवसायीहरूको बिकल्पसहितको सुझावलाई बेवास्ता गरेका छन् । मन्त्री पाण्डे र महानिर्देशक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई १० घण्टा बन्द गरेर मर्मत गर्दा के असर पर्छ ? भविष्यले त्यसको परिणाम देखाउनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा अर्थात् राति १० देखि बिहान ८ बजेसम्म बन्द हुनेछ । पर्यटन र होटल व्यवसायीहरूले काठमाडौंबाट नजिक रहेका एयरपोर्ट जस्तै भरतपुर, विराटनगर, निजगढ, जनकपुरको उडानहरूमा कटौती गर्ने, आन्तरिक उडानका अत्यावसेक बाहेकका कार्यतालिका कटौती गर्ने, अन्तर्राष्ट्रिय उडानलाई कुनै असर नपर्ने गरेर तालिका बनाउन मन्त्री पाण्डेलाई सुझाव दिएको पाँचतारे होटल सञ्चालन गर्दै आएका एक व्यवसायीले बताएका छन् । मन्त्री पाण्डेले यो सुझाव सुन्न लागू गर्नै चाहेनन् ।

सन् २०१८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य रनवे मर्मत गर्दा समेत ६ घण्टा बन्द गरेर काम सम्पन्न गरिएको थियो । अहिले ट्याक्सी वे मर्मत गर्दा १० घण्टा बन्द गर्ने अवस्था किन आयो भनेर ? महानिर्देशक अधिकारीको कार्यक्षमतामा प्रश्न उठेको छ । अहिले त त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलको ट्याक्सी वे मात्र मर्मत गर्न लागिएको छ ।

महानिर्देशक अधिकारीको जिद्दीले गर्दा बिहानको माउन्टेन फ्लाईट प्रभावित हुने छन् । नेपालमा टुरिस्टको सिजन शुरु भइसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका नाममा महानिर्देशक अधिकारीले १० घण्टा बन्द गर्दा विदेशी पर्यटकले धमाधम बुकिङ्ग क्यान्सल गर्न थालेको होटल र पर्यटन व्यवसायीहरूले गुनासो गरेका छन् । १० घण्टाले गर्दा जहाजहरूको दिनभरिको उडान सेड्युल प्रभावित हुनेछ । यात्रुले सास्ती व्यहोर्नु पर्नेछ ।

महानिर्देशक अधिकारीले मृत सरह रहेका गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय जहाजहरूलाई जबरजस्ती अवतरण गराउने रणनीतिअनुसार १० घण्टा बन्द गराएको भनेर प्राधिकरण कै कर्मचारीहरूले टिप्पणी गरेका छन् ।

भैरहवा र पोखरा विमानस्थललाई महानिर्देशक अधिकारीले सञ्चालन गर्न सकिरहेका छैनन् । जहाजहरूलाई भैरहवा उडाउन बाध्य बनाउँदा विदेशी जहाज नै नआउने संभावना छ ।

आई.एफ.आर. नभएको भैरहवा र पोखरा विमानस्थलमा ठूला जहाज जान मान्दैनन् । भैरहवा र पोखरामा साना विदेशी जहाजले पनि रिस्क लिदैनन् ।

उता, अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएशन (आईएटीए)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समय घटाइएको प्रति आपत्ति जनाएको छ । उडानअवतरणको समय कटौती हुनुले एक वर्षअघि नै टिकट बुक गरेका यात्रुहरू समस्यामा पर्नेछ ।

प्राधिकरणले रनवे मर्मतका लागि भन्दै आगामी नोभेम्बर ८ (कार्तिक २३ गते)देखि अर्को वर्षको मार्च ३१ सम्म दैनिक राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा बन्द हुनेछ । मुख्य विमानस्थल १४ घण्टामात्रै सञ्चालन हुने भएपछि महानिर्देशक अधिकारीको चर्को आलोचना भइरहेको छ ।

नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै आईएटीएले कटौती भएको समयमा उडान तय भएका सबै जहाजलाई व्यवस्थापन गर्न आग्रह गरेको छ । एयरलाइन्सहरूले पूर्वनिर्धारित समयमा पुनर्विचार गर्न नसकिने जानकारी गराएको बताउँदै आईएटीएले बन्द हुने समयलाई ६ घण्टामा सीमित गर्न सुझाव दिएको छ । उसले व्यस्त हुने दिन भने पूर्णरुपमा विमानस्थल सञ्चालन गर्न प्राधिकरणलाई सुझाएको छ ।

प्रभावित हुने यात्रु, जहाज र नेपालको हवाई क्षेत्रमा हुने नकारात्मक असर क मगर्न भन्दै आईएटीएले प्राधिकरणलाई ६ बुँदे सुझाव पनि दिएको छ ।

यता, मर्मतको १० घण्टाभित्र महानिर्देशक अधिकारीको अर्कै योजना रहेको प्राधिकरणभित्र चर्चा छ । पोखरा र भैरहवा विमानस्थलमा भएको अनियमिता र घोटाला छानविन गर्न दुई वटा संसदीय समिति सार्वजनिक लेखा समितिले बनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छाविन र अनुसन्धान गरिरहेको छ । संसदीय समितिहरू र अख्तियारबाट बच्न तथा छाविन, अनुसन्धानलाई ओझेलमा पार्न मर्मतको १० घण्टालाई सदुपयोग गर्ने योजनामा महानिर्देशक अधिकारी रहेको स्रोतको दाबी छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई १० घण्टा बन्द गरेर मर्मत गर्दा त्यसको अपजस मन्त्री पाण्डेमाथि सिधै जानेछ । महानिर्देशक अधिकारीभन्दा पनि मन्त्री पाण्डे त्यसको जवाफदेही हुनुपर्नेछ । मन्त्री पाण्डेलाई विवादमा तान्न महानिर्देशक अधिकारीले मर्मतका लागि भन्दै १० घण्टा विमानस्थल बन्द गराएको त होइन ? प्रश्न उठेको छ ।

Published : Saturday, 2024 November 2, 2:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया