बाँके, पाल्पासहितका जिल्लामा भएका दुर्घटनामा ५ जनाको मृत्यु
काठमाडौं । बाँके, चितवन, पाल्पासहितका जिल्लामा भएको सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपालगंज उपमहानगरपालिका–१ पुष्पलाल चोक नजिक भे.३ प २४३० नम्बरको मोटरसाइकल भे.१ ख २२३० नम्बरको बससँग ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–१८ भुजगाउँ बस्ने ३० वर्षीय जितराम साहुको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको थियो ।
उक्त स्थानमा मोटरसाइकलले बसलाई ओभरट्याक गर्ने क्रममा मोटरसाइकल बसमा ठक्कर खाँदा बस अनियन्त्रित भई ने.१ ह १९८१ नम्बरको ई–रिक्सासँग ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका ई–रिक्सा चालक र ई–रिक्सामा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता, काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित सडकमा जिरो किलोबाट दोलालघाटतर्फ जाँदै गरेको बा.प्र.०२–०२५ प ८७७६ नम्बरको स्कुटर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना भएको छ ।
दुर्घटनामा चालक पाँचखाल नगरपालिका–२ बस्ने २२ वर्षीय विशाल चौलागाईंको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यता, पाल्पाको माथागढी गाउँपालिका–२ फेदी भन्ने स्थानमा लु.२ ख १४५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने ५३ वर्षीय टेकबहादुर ढेगाको बिहीबार बेलुकी मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता, चितवनको भरतपुर महानगरपालिका–२२ अम्रेलास्टेट नजिक बा.प्र.०२–०५१ प १०२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना भएको छ ।
दुर्घटनामा चालक सोही महानगरपालिका–२२ बस्ने ३१ वर्षीय अशोक भुजेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
उता, नुवाकोटको लिखु गाउँपालिका–६ दोबाटेस्थित सडकमा बा.६२ प २८७९ नम्बरको मोटरसाइकल बा.५ ख ७०१६ नम्बरको ट्रकसँग ठक्कर खाई बिहीबार बेलुकी दुर्घटना भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार तादी गाउँपालिका–३ बस्ने ३६ वर्षीय विनोद चौलागाईं मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ ।
उक्त स्थानमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई ट्रकमा ठक्कर खाँदा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र र पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया