परराष्ट्र मन्त्रालयकी सचिव लम्सालकाे नाम राजदूतमा अनुमाेदन
काठमाडौं । संसदीय सुनुवाइ समितिले बेल्जियमको राजदूतमा परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले लम्सालको नाम अनुमोदन गरेको हो । लम्सालले बेल्जियमका साथै युरोपियन युनियनको राजदूतको पनि जिम्मेवारी सम्हाल्ने छिन् । लम्सालले आफ्नो अनुभव र कार्ययोजना प्रस्तुत पनि गरेकी छिन् । त्यसपछि समितिले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
लम्सालले नेपालको संक्रमणकालीन न्याय सम्बन्धमा आफूले बेल्जियमका साथै युरोपेली देशहरूमा प्रचारप्रसार गर्ने बताएकी छन् ।
नेपालको संक्रमणकालीन न्यायको सम्बन्धमा युरोपेली मुलुकहरूमा प्रचारप्रसारको आवश्यकता रहेको र त्यसलाई आफूले प्राथमिकतामा राखेको उनले बताएकी छिन् ।
ईयूको जिम्मेवारीसहित बेल्जियमको आवासीय र लक्जेम्बर्ग एवं नेदरल्यान्डको गैरआवासीय राजदूतमा प्रस्तावित लम्सालले नेपालको निर्यात व्यापार प्रवर्द्धन, विकास सहायता, पर्यटन प्रवर्द्धन, उच्च आय र मर्यादित रोजगारीका अवसरहरूको खोजी, नेपालमा वैदेशिक लगानी ल्याउने, आर्थिक कूटनीति कार्यान्वयन गर्ने सन्दर्भमा गैरआवासीय नेपालीसँग सहकार्य गर्ने उल्लेख गरेकी छिन् ।
यसका साथै, द्विपक्षीय संयन्त्र क्रियाशील गर्ने, सार्वजनिक कूटनीतिमार्फत नेपालको नरम शक्तिको प्रवर्द्धन र नीति पैरवी तथा नागरिकस्तरमा सम्बन्ध विस्तार गर्ने लम्सालको कार्ययोजनामा उल्लेख छ ।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भइसकेकी लम्साललाई राष्ट्रपतिले नियुक्त गर्नेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया