बाढीपहिरोमा परेर मृत्यु भएकाका आफन्तलाई सहयोग गर्ने नेताहरूको उच्च मूल्यांकन हुन्छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरोमा परेर मृत्यु भएका आफन्तलाई सहयोग गर्नेहरूको पार्टीमा उच्च मूल्यांकन हुने बताएका छन् ।
मंगलबार ललितपुरको गोदावरी नगरपालिकाको चापागाउँमा बाढीपहिरोमा परेर मृत्यु भएका परिवारका आफन्तलाई प्रतिव्यक्ति २५ हजारका दरले आर्थिक सहयोग गर्दै देउवाले विपतको बेला सहयोग गर्ने सबैको मूल्यांकन हुने बताए ।
सभापति देउवाले ४६ जना मृत्यु भएका व्यक्तिका आफन्तलाई जनही २५ हजारका दरले आर्थिक सहयोग गरेका छन् ।
उनले भने, ‘बाढी र पहिरोबाट सबैभन्दा बढी क्षति भएको ठाउँमध्येको यो ललितपुर चापागाउँ धेरै दाजुभाई दिदीबहिनीहरूको बाढीपहिरोबाट मृत्यु भएको छ । एकजना साथीको श्रीमतीले राहत बाँड्दाबाँड्दै पनि आफै मृत्युवरण गर्नुभयो, राहत बाँड्ने काम छोड्नु भएन । यस्ता साथीभाई दाजुभाईहरूको जति प्रशंसा गरे पनि पुग्दैन ।’
पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले भने, ‘त्यस कारण तपाईहरू यस पार्टीको लागि, यो पार्टीमा अत्यन्तै उच्च काम गर्नुभएको छ । हाम्रो पार्टीले तपाईहरूको उच्च मूल्यांकन गर्नेछ ।’
‘बाढीपहिरोले ललितपुर लगायत देशभरि धेरै ठूलो नोक्सान भएको छ । केही ठाउँमा भूकम्पले नोक्सान भएको छ’, उनले भने, ‘देशका धेरै ठाउँमा बाढीपहिरोले दाजुभाई दिदीबहिनीहरूले ज्यान गुमाएका छन् । यस्तो अवस्थामा सधैँ हार्दिक समवेदना प्रकट गर्न चाहन्छु । मृतकको आत्माको चीर शान्तिको कामना गर्दछु ।’
सभापति देउवाले भने, ‘मोहन बस्नेतजीले राम्रो कामको बिडा उठाउनु भएको छ । उहाँलाई पनि हार्दिक धन्यावाद दिन चाहन्छु । बस्नेतजीलाई पार्टीले मूल्यांकन गर्नेछ ।’
कार्यक्रममा सभापति देउवाले बाढीपहिरोमा परेर ज्यान गुमाएका मृतकका परिवारलाई प्रतिव्यक्ति २५ हजारका दरले आर्थिक सहयोग गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा मृतकका आफन्तलाई जनही २५ हजारका दरले आर्थिक सहयोग भएको छ ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद मोहनबहादुर बस्नेत, उदयशम्शेर राणा, जीतजंग बस्नेत, केन्द्रीय सदस्य मदनबहादुर अमात्य, ललितपुर कांग्रेसका सभापति जितेन्द्र श्रेष्ठ, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया