नेपाली मनलाई विभाजित गरी अराजकता र साम्प्रदायिक मच्याउने प्रयास भयाे : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा सशस्त्र प्रहरी बल, सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने बताएका छन् ।
ओलीले अराजकता र कानून विपरीतका क्रियाकलाप सफल हुन त के मौलाउन पनि नदिइने बताए ।
प्राकृतिक विपद् लगायत अन्य परिस्थितिलाई सामना गर्दै मुलुकको शान्ति स्थापना कार्यमा तैनाथ हुन लागेकामा सहभागी प्रहरी अधिकृतलाई उनले शुभकामना दिएका छन् ।
सशस्त्र प्रहरी बललाई प्रभावकारी बनाउन र सुविधा बढाउने विषयमा कानूनमा आवश्यक संशोधनको तयारी भएको प्रधानमन्त्री ओलीले बताए ।
ओलीले सीमा क्षेत्रको सुरक्षालाई सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन् । संगठनको क्षमता, उचाइँ र कामलाई अझमाथि उठाउन उनले शुभकामना दिएका छन् ।
समारोहमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उपस्थिति रहेका थिए ।
तालिमबाट ४५ प्रशिक्षार्थी सफल भई कार्यक्षेत्रमा खटिन तयार भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया