टोले गुण्डाको समूहबाट काठमाडौंमा जग्गा व्यवसायी लामामाथि सांघातिक हमला, आईसीयूमा भर्ना

काठमाडौं । टोले गुण्डाहरूबाट अपराधका घटना पछिल्ला समय काठमाडौंमा बढिरहेका बेला जग्गा व्यवसायी विक्रम लामालाई ४ जनाको समूहले रड प्रहार गरेर गम्भीर घाइते बनाएको छ ।

आइतबार लाजिम्पाटस्थित पार्किङमा आपराधिक पृष्ठभूमिको समूहले लामामाथि अन्धाधुन्द रड प्रहार गरेको सीसीटीभीको भिडियोमा देखिएको छ । रडले प्रहार गरेपछि लामा भुइँमा ढलेका छन् । ढलेका लामालाई टोले गुण्डाहरूले लात्तीले समेत प्रहार गरेको भिडियोमा देखिएको छ ।

घाइते भएका लामा नुवाकोटका जग्गा व्यवसायी हुन् । लामालाई किन र कुन उद्देश्यले टोले गुण्डाहरूले आक्रमण गरेका हुन् खुलेको छैन ।

घाइते व्यवसायी लामाको अवस्था गम्भीर छ । लामाको चक्रपथस्थित ग्रीन सिटी अस्पतालमा उपचार भइरहेको छ । लामालाई आईसीयूमा राखिएको परिवारजनले बताएका छन् ।

घटनामा संलग्न मार्सल तामाङलाई प्रहरीले पक्राउ गरेको छ । रड प्रहार गरी लामालाई गम्भीर घाइते बनाएर फरार ३ जनाको खोजी भइरहेको छ ।

सीसीटीभीको भिडियोमा व्यवसायी लामा पार्किङमा पुग्नु अगाडि नै ४ जना टोले गुण्डाहरू पार्किङ क्षेत्रमा पुगेको देखिएको छ ।

सेतो रङको निजी कारसहित पाकिङभित्र छिरेका व्यवसायी लामालाई तत्कालै टोले गुण्डाहरूले अन्धाधुन्ध रड प्रहार गरेको भुइँमा ढालेको भिडियोमा देखिएको छ ।

Published : Tuesday, 2024 October 29, 9:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया