मकवानपुर प्रहरीद्वारा तिहारको बेला २ किलोभन्दा धेरै चाँदी बरामद

काठमाडौं । तिहारको बेला जिल्ला प्रहरी कार्यालय मकवानपुरले २ किलो १९६ ग्राम अबैध चाँदीसहित १ जना मानिसलाई नियन्त्रणमा लिएको छ ।

आइतबार राति करीव ११ बजेको समयमा विशेष सूचनाको आधारमा प्रहरी टोलीले चाँदीसहित भारतीय नागरिक ४८ वर्षीय मनोजकुमार झालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्काले बताएका छन् ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौँडा उप–महानगरपालिका वडा नं. १५ स्थित रातोमाटे चेकपोईन्टमा चेकजाँचका क्रममा चाँदी बरामद भएको थियो ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग सडकखण्डमा पथलैयातर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ७२६२ नम्बरको यात्रुबाहक बसलाई रोकेर प्रहरीले चेकजाँच गर्ने क्रममा बसमा सवार भारतको बिहार राज्य, मधुवनी जिल्ला, जेटीयाही पञ्चायत, पर्जुआर टोल बस्ने झालाई पक्राउ गरिएको एसपी खड्काले बताए ।

झाले शरीरको छातीमा फल्स बटम बनाई ३२ थान चाँदीको मूर्तिहरू लुकाई राखेको अवस्थामा फेला परेको एसपी खड्काले बताए ।

मूर्तिहरूको तौल गर्दा २ किलो १९६ ग्राम रहेको थियो । बरामद भएको चाँदीको बजार मूल्य ३ लाख ६६ हजार ५सय ४९ रुपियाँ रहेको छ । झालाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारा पठाइएको छ ।

यता, सोमबार बिहान खैरोहिरोइनसहित २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टका प्रहरीले काकटभिट्टाबाट हेटौँडा हुँदै काठमाडौंतर्फ जाँदै गरेको वागमती प्रदेश ०१–००६ ख ७४४३ नम्बरको यात्रुबाहक बसलाई रोकेर चेकजाँच गर्ने क्रममा बसमा सवार सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का ४१ वर्षीय दामोदर लुईंटेल र १८ वर्षीय सन्देशराज धामीलाई खैरो हिरोइनसहित पक्राउ परेको एसपी खड्काले बताए ।

उनीहरूको साथबाट प्रहरीले २ सय २२ ग्राम २६ मिलिग्राम खैरोहिरोइन बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका लुईंटेल र धामीलाई थप अनुसन्धान गर्न मकवानपुर जिल्ला अदालत हेटौँडाबाट १५ दिनको अनुमति लिएर हिरासतमा राखिएको छ ।

Published : Monday, 2024 October 28, 8:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया