संकटका बेला सबैलाई आफ्नै जन्मथलो चाहिन्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकास र सम्मृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघ अमेरिकाद्वारा वासिङ्टनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका अनगिन्ती सम्भावना रहेको बताए । उनले अहिले लगानीको वातावरण रहेको भन्दै मातृभूमिमा लगानी भित्र्याउन आग्रह गरेका छन् ।

उनले भने, ‘प्रकृतिले नेपाललाई धेरै कुरा दिएको छ । त्यसको उपयोग र उपभोग गर्न हामी सफल हुन सकेका छैनौँ ।’

‘देशलाई यतिखेर तपाईहरूले विदेशी माटोमा आर्जन गरेका ज्ञान, सीप र पुँजीको जरुरत छ’, ढकालले भने, ‘अहिले हामी जहाँ र जस्तोसुकै काम विशेषमा रहेका भए पनि भोलिको सन्ततिका लागि नेपालमै केही गर्नुपर्छ ।’

अध्यक्ष ढकालले संकटका बेला सबैलाई आफ्नै जन्मथलो चाहिने बताए । उनले भने, ‘कोरोना महामारीका बेला हामी सहरमा बसेका गाउँ फर्कियौँ, विदेशमा विभिन्न कारणले बसेका नेपालीहरू घर फर्किए ।’

‘त्यो अवस्थाको स्मरण गर्दा हामी अहिले जहाँ जुन रुपमा भए पनि हाम्रो घर भनेको नेपाल नै रहेछ भन्ने लागेको थियो’, उनले भने, ‘त्यसैले पनि म तपाईहरूलाई यो आग्रह गर्दछु कि आफ्नै जन्मस्थानमा केही गर्नुपर्छ ।’

ढकालले गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्न चाहेमा महासंघले आवश्यक सबै सहजीकरण गर्ने बताए । उनले नेपालका लगानीकर्ताहरू पनि सहकार्य गर्न इच्छुक रहेको बताएका छन् ।

अध्यक्ष ढकालले नेपालमा अहिले जलविद्युत, पर्यटन, हस्पिटालिटी, सूचना प्रविधि तथा अन्य पूर्वाधारका क्षेत्रमा लगानीका सम्भावनाहरू रहेको बताएका छन् ।

कोरोना महामारीपछि मुलुकको अर्थतन्त्र लयमा फर्कने तरखरमा रहेको उनले बताए । नेपालमा अहिले पर्यटन क्षेत्र फस्टाउँदो अवस्थामा रहेकाले ती क्षेत्रमा लगानी गरेर मुनाफा आर्जन गर्न अध्यक्ष ढकालले आग्रह गरेका छन् ।

Published : Saturday, 2024 October 26, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया