परराष्ट्रमन्त्रीसँग विष्फोटक पदार्थ आयात र विद्युत् निर्यातमा सहयोग गर्न इप्पानको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलविद्युत् आयोजनालाई चाहिने विस्फोटक पदार्थको आयात र विद्युत् निर्यातमा सहजीकरण गर्ने आश्वासन दिएकी छिन् ।

बिहीबार परराष्ट्र मन्त्रालयमा मन्त्री डा.राणासँग स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का पदाधिकारीहरूले विष्फोटक पदार्थ आयात र विद्युत निर्यातमा समस्या रहेको गुनासो राखेका थिए । निर्माणाधीन विद्युत् आयोजनाहरूलाई आवश्यक पर्ने विस्फोटक पदार्थ अभाव हुँदा समस्या परेको इप्पानले जनाएको छ । विस्फोटक पदार्थ विदेशबाट आयात गर्नुपर्नेहुन्छ ।

डा.राणाले जलविद्युत् आयोजनामा अत्यावश्यक विस्फोटक पदार्थ आयात सहज बनाउन आफ्नोतर्फबाट शतप्रतिशत प्रयास हुने बताएको इप्पानले जनाएको छ ।

विदेशी नियोगका मानिससँग भेट्दा नेपालको ऊर्जा र पर्यटनमा लगानी गर्न धेरै नै चासो देखाएको भन्दै मन्त्री डा.राणाले यी विषय सम्बोधनका लागि इकोनोमिक डिप्लोमेसी शाखा नै स्थापना गर्ने योजनामा परराष्ट्र मन्त्रालय रहेको बताएकी छिन् ।

इप्पानका अध्यक्ष गणेश कार्कीले अहिले विस्फोटक पदार्थको आयात असहज हुँदा आयोजनाको लागत बढ्नुका साथै समयमा निर्माण सम्पन्न नहुँदा नेपाल विद्युत् प्राधिकरणलाई पेनाल्टी तिर्नुपर्ने अवस्था रहेको परराष्ट्रमन्त्री डा.राणालाई जानकारी गराएका छन् ।

अहिलेकै गतिमा आयोजना बन्दै गएमा १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा नहुनुका साथै १० वर्षमा १० हजार मेगावाट विद्युत् भारतमा निर्यात गर्ने लक्ष्य पनि पूरा नहुने अध्यक्ष कार्कीले बताए ।

इप्पान कार्यसमिति सदस्य भरत पराजुलीले नेपालमा अहिले मासिक चार सय मेट्रिक टन र वर्षमा करिब पाँच हजार मेट्रिक टन विस्फोटक पदार्थ आवश्यक पर्ने बताए ।

Published : Friday, 2024 October 25, 10:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया