प्रधानाध्यापक, मुखिया र शिक्षकद्वारा लाखौं रकम हिनामिना, अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शंकर माध्यामिक विद्यालय, बरमझियाका तत्कालीन प्रधानाध्यापक दिलिपकुमार गुप्तासमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
मंगलबार अख्तियारले गुप्तासहित ३ जनाविरुद्ध भ्रष्टार गरेको भन्दै आरोपपत्र दायर गरिएको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताएका छन् ।
कञ्चनरुप नगरपालिका वडा नं. ३ स्थित शंकर माविका प्रधानाध्यापक गुप्ताले २०७१÷७२ मा विद्यालयको शौचालय निर्माणका लागि निकासा भएको पहिलो किस्ता, विद्यार्थीहरूको नाममा आएको छात्रवृत्ति नबाँडेको, पीसीएफ, अनुदानवापतको रकम शिक्षक नराखेर हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ ।
गुप्ताले पाठ्यपुस्तक खरिदमा समेत अनियमितता गरीविगत ५ वर्षदेखि विद्यालयको आय र व्यय सार्वजनिक नगरी विद्यालयको कोषको रकम हिनामना गरेका थिए ।
गुप्ताले शौचालय निर्माणका क्रममा ६२ हजार ५ सय ८३ रुपियाँ र ३६ पैसासहित विभिन्न शीर्षकबाट समेत गरी ६ लाख ४९ हजार ९ सय १६ रुपियाँ र २६ पैसा हिनामिना र भ्रष्टाचार गरेको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ ।
तत्कालीन प्रधानाध्यापक गुप्ताविरुद्ध सजाय र जरवाना हुने गरी बिगोसमेत निजबाट असुल उपर हुन अख्तियारले माग गरेको छ ।
शंकर माध्यामिक विद्यालय, सप्तरीका मुखिया श्रवणकुमार चौधरीलाई पनि तत्कालीन प्रधानाध्यापक गुप्तासँग मिलोमतो गरेर सरकारी रकम हानिनोक्सानीमा सहयोग गरेको भन्दै बिगो र जरिवाना माग गरिएको अख्तियारले जनाएको छ । चौधरीले पनि ५ लाख ८७ हजार ३ सय ३३ रुपियाँ र २६ पैसा हानिनोक्सानी गरेको आरोपपत्रमा उल्लेख छ ।
सोही विद्यालयका शिक्षक हृदयराम चौधरीले पनि विालयको रकम हानिनोक्सानी गर्न सहयोग गरेको अख्तियारले जनाएको छ । चौधरीले ६२ हजार ५ सय ८३ रुपियाँ हानिनोक्सानी गरेको भन्दै बिगो र असुल उपर गर्न आरोपपत्रमा उल्लेख गरिएको सहायक प्रवक्ता थपलियाले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया