पूर्व जानकारी हुँदा पनि सरकार तयारीमा चुक्यो, कम्युनिस्ट इमान्दार छैनन् : शंकर भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री शंकर भण्डारी विपतको पूर्वजानकारी हुँदा समेत सरकारको तयारी फिलो रहेको भन्दै आक्रोश पोखेका छन् ।

मंगलबार काठमाडौंमा बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्ने क्रममा भण्डारीले भने, ‘सम्भावित प्राकृतिक बिपद् तथा जोखिमको पूर्वसूचना प्राप्त भएको अवस्थामा जोखिम तथा क्षति न्यूनीकरणका लागि यथेष्ट समय उपलब्ध हुँदा पनि सरकारको तर्फबाट गरिएका तयारी अत्यन्त फितलो तथा अपर्याप्त देखियो ।’

उनले भने, ‘विपद् व्यवस्थापनमा समन्वय र जवाफदेहितामा गम्भीर अभाव देखियो । ललितपुरको नख्खु खोला किनारको टहरोमाथि उद्धारको याचना लामो समय गर्दा उद्धार हुन नसकेको घटनाले विश्वव्यापी चर्चा पाएको छ ।’

‘यसले नेपालको राज्य संयन्त्र कमजोर छ तथा गैर जिम्मेवार छभन्ने सन्देश विश्वभर फैलिएको छ’, भण्डारीले भने, ‘काठमाडौं उपत्यकामा नै केही गर्न नसक्ने सरकारले अन्यत्र जनधनको कसरी रक्षा गर्न सक्ला भन्ने संशय उत्पन्न भएको छ ।’

भण्डारीले भने, ‘यसले नेपालको साख नराम्रोसंग घटाएको छ । विपदको समयमा सम्माननीय प्रधानमन्त्रीबाट व्यक्त भएका कतिपय अभिव्यक्तिहरू समय सुहाउँदो देखिएनन् ।’

‘नेपाली कांग्रेस समेतको संयुक्त सरकार भएकाले प्रधानमन्त्रीज्यूले बोलेको कुराको जिम्मेवारी नेपाली कांग्रेसले पनि लिनु पर्ने भएकाले त्यसमा ध्यान दिन, नेपाली कांग्रेसका संसदीय दलका नेता तथा पार्टी सभापतिज्यूको ध्यानाकर्षण गराएको छु’, उनले भने ।

‘नेपाली कांग्रेसको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीज्यूहरूले सांसद तथा पार्टीका नेता एवम् जिल्ला सभापतिहरूको समेत फोन नउठाएको, सुझाव तथा माग नसुनेको भन्ने जस्ता गुनासाहरू सबैतिरबाट आएका छन्’, सांसद भण्डारीले भने ।

‘माननीय मन्त्रीहरू पार्टीप्रति जवाफदेही हुने संस्कारको विकास हुनु पर्दछ’, सांसद भण्डारीले भने, ‘मन्त्रीहरूले आफ्नो कार्यशैलीमा तत्काल सुधार गरी सांसद तथा पार्टीका नेताहरूको राय सल्लाह बमोजिम काम गर्न सुझाव दिएको छु ।’

‘नेपाली कांग्रेसले पाएका मन्त्रालयमा कर्मचारीको व्यवस्थापनमा पर्याप्त विवेक पु¥याउन नसक्दा एकथरीले सधै लाभ लिने र अर्काथरी तिरस्कृत हुन पुगेको भन्ने गुनासाहरू आएका छन्’, उनले भने ।

‘कर्मचारीलाई अत्यन्त न्यायिक एवम् विवेकपूर्णढंगबाट व्यवस्थापन गर्न सुझाव प्रदान गरेको छु’, भण्डारीले भने ।

‘नेपालका कम्युनिष्टहरूले पटक पटक नेपाली कांग्रेसलाई झुक्याउदै आएका छन्’, उनले भने, ‘विगतमा पनि नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण नगरी झुक्याएको ईतिहास ताजै छ ।’

उनले भने, ‘भविष्यमा पनि नेकपा (एमाले)ले सजिलै सँग नेपाली कांग्रेसलाई सत्ता सुम्पन्छ भन्न सकिदैन । त्यसतर्फ पनि हामी सचेत रहनु पर्ने हुन्छ भन्ने सुझाव दिएको छु ।’

Published : Tuesday, 2024 October 1, 10:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया