बाढी, पहिरो र डुबानमा कयौंको मृत्यु, दर्जनौं घाइते, बेपत्ताको घटनाले कांग्रेस दुःखी

काठमाडौं । नेपाली कांग्रेसले असोज १२ र १३ गतेको अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानमा परेर केही दिन यता कयौंको मृत्यु, दर्जनौं घाइते र बेपत्ता भएको घटनाले दुःखी तुल्याएको जनाएको छ ।
मंगलबार काठमाडौंमा बसेको संसदीय दलको बैठकले यस दुःखद् घटनाप्रति नेपाली कांग्रेस संसदीय दलले गहिरो दुःख व्यक्त गरेको छ । दिवंगतहरूको आत्माको चीरशान्तिको कामना र परिवारजनमा गहिरो समवेदना कांग्रेसले प्रकट गरेको छ । कांग्रेसले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
सभापति शेरबहादुर देउवाले बेपत्ता नागरिकहरूको खोजी, उद्धार र राहता लागि अनुरोध गरेका छन् । ‘बेपत्ता रहेका नागरिकहरूको खोजीमा तीब्र ढंगले हरसम्भव प्रयास गर्न सरकारसँग यो बैठक जोडदार माग गर्दछ’, बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
‘कयौं नागरिक अझै पनि देशका विभिन्न भागमा उद्दारको प्रतिक्षामा रहेका छन्’, कांग्रेसले भनेको छ, ‘त्यसै गरी गन्तव्यका लागि हिडेका यात्रुहरूबीच बाटोमा अलपत्र परेका समाचार समेत आइरहेका छन् ।’
‘सरकारले आफ्नो सम्पूर्ण संयन्त्र तीब्र गतिमा परिचालन गरी उद्दार कार्य यथाशीघ्र सम्पन्न गर्न यो बैठक नेपाल सरकारसँग माग गर्दछ’, कांग्रेसले भनेको छ ।
कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘प्राकृतिक प्रकोपले कैयन ठूला–साना सडक अवरुद्ध भएका छन् । कयौं पुल भत्किएका छन् र आवागमनमा असर परेको छ । चाडपर्वहरूमा घर जान चाहने नागरिकको चाप बढ्नेछ । अतः अवरुद्ध सडकहरूको मर्मत संभारको कार्य तीब्र गतिमा अघि बढाई सम्भव भएसम्म अस्थाई रुपमा बैकल्पिक मार्गको समेत व्यवस्था गरी नागरिकहरू दशैँमा घर जान सक्ने अवस्था निर्माण गर्नको लागि यो बैठक नेपाल सरकारसँग अुनरोध गर्दछ ।’
‘खानेपानी, स्वास्थ्य संस्था, विद्यालय एवं प्रहरी चौकी जस्ता क्षतिग्रस्त अति आवश्यक भौतिक संरचनाहरू तत्काल पुनर्निर्माणका लागि सरकारसँग आग्रह गर्ने निर्णय गर्दछ’, कांग्रेसले भनेको छ ।
‘सडक मार्गहरूको खराब अवस्थाको कारण हवाई मार्गमा पर्न जाने चापलाई मध्यनजर राखी हवाई भाडादरलाई न्यूनतम दरमा कायम राख्न हवाईसेवामा आवश्यक सहुलियत प्रदान गर्न सरकारसँग माग गर्ने निर्णय गर्दछ’, कांग्रेसले भनेको छ ।
‘सडक यातायातको भाडादर पनि वृद्धि नगरी यथावत कायम राख्न र चाडवाडको समयमा बजारमा हुने अस्वभाविक मूल्यवृद्धि प्रति सरकारलाई सचेत गराउँदै आपूर्ति व्यवस्थालाई सुव्यवस्थित गर्न सरकारसँग माग गर्ने निर्णय गर्दछ’, कांग्रेसले भनेको छ ।
‘नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको मिति २०८१ असोज १३ गते बसेको बैठकले राहत व्यवस्थापन गर्न नेपाली कांग्रेस संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा)का सबै माननीय सदस्यहरूको १५ (पन्ध्र) दिनको पारिश्रमिक कट्टा गरी नेपाल सरकारलाई प्रदान गर्ने गरेको निर्णयलाई यो बैठक अनुमोदन गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
‘बाढीपहिरो पीडितहरूको राहत र उद्दार कार्यमा सबै संघीय सांसदहरू आ–आफ्नो क्षेत्रबाट पूर्णरुपमा संलग्न रही सहयोग गर्ने निर्णय गर्दछ’, कांग्रेसले भनेको छ ।
‘बाढी पहिरोको कारण भएको अन्नवालीको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन एवं नदी कटान भएको स्थानमा नदी नियन्त्रण कार्यलाई प्राथमिकतामा राख्न सरकारसँग माग गर्ने निर्णय गर्दछ’, कांग्रेसले भनेको छ ।
‘ईजरायल र लेबनानबीच शुरु भएको युद्धबाट लेबनानमा रहेका नेपालीहरू पनि जोखिममा रहेका हुँदा उनीहरूको सुरक्षा र इच्छुकहरूको सकुशल स्वेदश फिर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गर्ने निर्णय गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
साथै कांग्रेसले भनेको छ, ‘भीषण एवं अविरल वर्षातको चपेटामा परी आफ्नो ज्यान गुमाउने व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै दिवंगतहरूको आत्माको चीरशान्तिको निमित्त एक मिनेट मौनधारण गर्दै यो शोक प्रस्ताव परित गर्ने निर्णय गर्दछ ।’
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया