जीबी–रविको सहकारीबाट ३ करोड लगेर सम्पत्ति जोड्ने महिला

पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ३ करोड रुपियाँ चल अचल सम्पत्ति किनेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले लीला पछाईलाई पक्राउ गरेको छ ।

गितेन्द्रबाबु राई (जीबी राई)सँग गैरकानूनी रूपमा मिलेमतो गरी पोखरा महानगरपालिका–४ नालाको मुखमा रहेको सूर्यदर्शन सहकारीबाट लीलाले लगेकी थिइन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

रकम लगेको अभियोगमा गुल्मीको मुसिकोट नगरपालिका–४ स्थायी घर भई हाल ललितपुरको खुमलटारमा बस्दै आएकी ३२ वर्षीया लीला पछाईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

शेयर, बचत तथा जगेडा लगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधानविपरीत हिनामिना एवं अपचलन गरेको भन्दै लीलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

लीलाले ३ करोडभन्दा बढी रकम आफ्नो बैंक खातामा लगेर चल अचल सम्पत्ति खरिद र शेयर कारोबारमा लगानी गरेको अभियोग छ ।

सूर्यदर्शन सहकारीको करोडौं रकम अपचलन र ठगी गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारबाही सिफारिसमा परेका छन् । लामिछाने राजनीतिक शक्तिको आडमा बच्दै आएका छन् । लामिछानेविरुद्ध प्रहरीले छिटै संगठित अपराधमा मुद्दा चलाउने तयारी गरेको छ ।

Published : Tuesday, 2024 October 1, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया