विवादित एसपी गौतम केसीको जिम्मेवारी खोसियो, निकम्मा २ सीडीओ पनि तानिए

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख (एसपी) गौतमकुमार केसीको जिम्मेवारी खोसेर फिर्ता बोलाएको छ ।

एसपी केसीलाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ । एसपी केसीले जिम्मेवारीअनुसार काम गर्न नसकेपछि जिम्मेवारी खोसेर तानिएको हो ।

एसपी केसीको स्थानमा अर्का एसपी दीपेन्द्र शाहीलाई पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले बताएका छन् । फागुनमा एसपी केसीको जिल्ला प्रहरी कार्यालय धादिङमा सुरुवा भएको थियो ।

झ्याप्ले पहिरोपछि एसपी केसी माथि प्रश्न उठेको थियो । पहिरोमा थुप्रै सवारी साधन पुरिँदा र उद्धारमा ध्यान नदिएको आरोप एसपी केसीमाथि लागेको छ ।

असार ११ र १२ गते राति रात्रिसेवाका बस सञ्चालन गर्न रोक लगाउनु भनिए पनि धादिङमा बस सञ्चालनमा थिए ।

एसपी केसी विवादित मानिन्छन् । राजनीतिक शक्तिको आडमा चलखेल गर्दै आएका एसपी केसीलाई झ्याप्ले खोलाको पहिरो र उद्धारका विषयमा जानकारी लिन प्रहरी प्रधान कार्यालय नक्सालबाट सम्पर्क गर्दा गैरजिम्मेवार जवाफ र अभिव्यक्ति दिएको आरोप छ ।

यसैबीच, गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) राजेन्द्रदेव पाण्डेलाई पनि मन्त्रालयमा तानेको छ ।

धादिङको प्रमुख जिल्ला अधिकारी बनाएर मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई पठाइएको छ । धादिङमा सीडीओ बनेर गएका घिमिरे निकै विवादित मानिन्छन् । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा निकट मानिने सहसचिव घिमिरेलाई सीडीओ बनाउन दवाव थियो ।

उता, जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद पाण्डेलाई पनि मन्त्रालयमा तानेर उनको ठाउँमा उमेश ढकाललाई पठाइएको छ ।

बाढी, पहिरो र डुबानका बेला संकटमा परेका जनताको उद्धार, राहत र पुनःस्थापनामा काम गर्न नसकेको भनेर ‘निकम्मा’को आरोप लागेका दुई सीडीओलाई तानेर गृह मन्त्रालयले अरु दुईलाई पठाएको छ ।

Published : Monday, 2024 September 30, 11:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया