दाउन्नेमा सडक भासियो, डाइभर्सन बनाउने प्रयास, यात्रु अलपत्र
दाउन्ने । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा सडक भासिएको छ ।
सोमबार सडक भासिएपछि यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ । बर्दघाट नगरपालिका– ४, खुसार्नी खोलामा वर्षाको कारण हाइटेन्सन लाइनको पोल ढलेको छ ।
सडक किनारको केही भाग भासिन गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी रेशम बोहोराले बताएका छन् ।
सडक भासिएको र पोल ढलेको कारण यातायात पूर्णरुपमा अवरुद्ध भएको छ । सडक भासिएपछि सयौँ सवारीसाधन दाउन्नेको वारी र पारी अलपत्र परेका छन् ।
सडक डिभिजन कार्यालय र विद्युत् कार्यालय नवलपरासीसँग समन्वय गरेर अवरोध हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
एकतर्फ भिर र अर्कोतर्फ पहाड भएकाले तत्कालै डाइभर्सन बनाउन समस्या रहेको छ । प्राविधिक टोलीले सडकको समस्या समाधानका लागि पहल गरिरहेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्क्रिम श्रेष्ठले बताएका छन् । दाउन्ने सडकको पश्चिमतर्फ बर्दघाट र पूर्वतर्फ दुम्कीबासमा सवारीसाधन रोकिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया