कांग्रेसले बाढी पहिरो प्रभावित क्षेत्रमा स्थानीय सरकारसँग समन्वय गरी अग्रसरता लिने
काठमाडौं । नेपाली कांग्रेसले बाढी पहिरो प्रभावित क्षेत्रमा पार्टीका जिल्ला र गाउँ नगर कार्यसमितिको बैठक बसी स्थानीय सरकारसँग समन्वय गरी उद्धार, राहत र पुनः स्थापनाकार्यमा अग्रसरता लिने भएको छ ।
सोमबार वीपीनगर, ललितपुरस्थित कांग्रेस केन्द्रीय कार्यालयमा बसेको ‘बाढी पहिरो पीडित राहत तथा पुनःस्थानपना समन्वय समिति’को बैठकले स्थानीय सरकारसँग समन्वय गरी उद्धार, राहत र पुनः स्थापनाकार्यमा अग्रसरता लिने निर्णय गरेको महामन्त्री गगन थापाले बताएका छन् ।
कांग्रेसले बाढी पहिरो ग्रस्त क्षेत्रमा भएको जनधनको क्षति र बाढी पहिरोको कारण नागरिकले भोग्नुपरेको कठिनाई, उद्धार, राहत, सुरक्षा र पुनःस्थानपनालगायत विषयमा अबिलम्ब काम गर्न प्रधानमन्त्री केपी ओलीलाई सुझावपत्र बुझाउने निर्णय गरेको छ ।
बाढी पहिरो वढी प्रभावित प्रदेशका प्रदेश सरकारलाई उद्धार, राहत र पुनःस्थानपनाका सन्दर्भमा थप क्रियाशील बनाउन कांग्रेस प्रदेश कार्यसमितिको तर्फबाट ध्यानाकर्षण गराइनेछ ।
त्यसका लागि पार्टी केन्द्रले, प्रदेश कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय गरेको महामन्त्री थापाले बताएका छन् ।
बाढी र पहिरोबाट पीडित परिवारको सुरक्षा गर्न, तत्काल राहत उपलब्ध गराउन र अस्थायी आवास निर्माण एवं पुनःस्थापनाकार्यलगायत प्रभावकारी ढङ्गले काम गर्न गराउन कांग्रेसको तर्फबाट निर्वाचित स्थानीय सरकारलाई क्रियाशील बनाउने बैठकको निर्णय छ ।
कांग्रेसले नेपाल लोकतान्त्रिक इन्जिनियर्स एशोसिएशन (सिडेन)को संयोजनमा डिपान तथा सम्बन्धित संघसंस्थाका प्रतिनिधि सम्मिलित विज्ञ समूह गठन गरी बाढी पहिरोबाट क्षतिग्रस्त क्षेत्रमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।
नेपाल विद्यार्थी संघको संयोजनमा बाढी पहिरोले क्षति बनाएका र प्रभावित क्षेत्रमा वसोवास गर्ने परिवारका लागि तत्काल राहत आवश्यक भएको स्थान पहिचान गरी स्थानीय प्रशासन र स्थानीय सरकारसँग समेत समन्वय गरी राहत सामग्री उपलब्ध गराइनेछ ।
नेपाल महिला संघको संयोजनमा बाढी पहिरो ग्रस्त र प्रभावित समुदायमा सचेतना र तहगत सरकारसँग समन्वय गरी स्वास्थ्य शिविरलगायता कार्यक्रम सञ्चालन गर्ने कांग्रेसले निर्णय गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया