परराष्ट्रमन्त्री डा.राणा र अमेरिकी उपविदेशमन्त्री जियाबीच भेटवार्ता

न्यूयोर्क । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाको नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले भेटवार्ता गरेकी छिन् ।

स्थानीय समयअनुसार सोमबार वासिङटन डिसीस्थित नेपाली राजदूतावासमा परराष्ट्रमन्त्री डा.राणा र अमेरिकी उपविदेशमन्त्री जियाबीच भएको भेटमा नेपाल–अमेरिकाको आपसी हितका विविध विषयमा कुराकानी भएको छ । डा.राणाको निजी सचिवालयका अनुसार उनीहरूका बीच शान्ति, मानवधिकार र प्रजातन्त्रका विषयमा पनि कुराकानी भएको छ ।

परराष्ट्रमन्त्री डा.राणाले नेपाल सदैव शान्ति, मानवअधिकार र प्रजातन्त्रका पक्षमा रहेको र नेपालको संसदले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानूनका बारेमा उपविदेशमन्त्री जियालाई जानकारी गराएकी छिन् ।

डा.राणाले नेपालले पीडितमैत्री सो कानून पारित गरेको र शान्ति प्रक्रियाका बाँकी रहेका कामहरू पनि छिट्टै टुङ्ग्याउने बताएकी छिन् ।

संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका आएकी परराष्ट्रमन्त्री डा.राणा वासिङ्टन डिसीमा छिन् ।

Published : Monday, 2024 September 30, 10:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया