कांग्रेसको १०० दिने अभियान स्थगित, उद्धार र राहतमा सहयोग गर्न जनप्रतिनिधि, भ्रातृ संस्थालाई निर्देशन

काठमाडौं । बाढी, पहिरो र डुबानका कारण मुलुकले प्रकृतिक प्रकोपको सामना गर्नु परेको भन्दै नेपाली कांग्रेसले आफ्नो १०० दिनेको अभियानको कार्यक्रम स्थगित गरेको छ ।

आइतबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय विपत्तिको यस घडीमा पार्टीको १०० दिने विशेष अभियानको पूर्व निर्धारित कार्यक्रम स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
१०० दिनको अभियान कोजाग्रत पूर्णिमा अर्थात असोज ३० गतेसम्म स्थगित गर्ने निर्णय गरिएको प्रवक्ता डा.प्रकाशशरण महतले बताएका छन् ।

‘केन्द्रीय प्रतिनिधिहरूलाई आफू खटिएको जिल्लामा उद्धार र राहतको कार्यमा आवश्यक समन्वयगर्न÷गराउन केन्द्रित गर्ने निर्णय यो बैठक गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘तीनै तहका जनप्रतिनिधि तथा चुनावमा पार्टीका तर्फबाट उम्मेदवार बन्नु भएका साथीहरू तथा भ्रातृ एवं शुभेच्छुक संस्थाको सबै तहको साथीहरूलाई उद्धार र राहतमा समर्पित ढंगले क्रियाशील हुन यो बैठक अपील गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

Published : Sunday, 2024 September 29, 3:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया