हवाई टिकटमा भएको कालोबजारी नियन्त्रण गर्न सभापति खतिवडाको निर्देशन

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले हवाई भाडा दरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

आइतबार समितिका सभापति रामहरि खतिवडाले आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीहरूले आफू खुसी हवाई भाडा बढाउँदा आम नागरिकमा ठूलो असर परेको बताएका छन् ।

सभापति खतिवडाले भने, ‘हिन्दुहरूको महान चाड दशैँको मुखमा आएको यस विपत्तिले नेपाली जनतामा त्रासको वातावरण रहेको र देशका विभिन्न स्थानमा बाढी र पहिरोको असरले सडक यातायात अबरुद्ध हुँद आवतजावतमा समस्या परेको छ ।’

‘यस विकराल तथा प्रतिकूल परिस्थितिमा आवतजावतको विकल्पको रुपमा रहेको हवाई यातायात समेतमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीहरूले आफू खसी हवाई भाडा बढाउँदा आम नागरिकमा यसले ठूलो असर परेको देखिन्छ’, सभापति खतिवडाको निर्देशनपछि समिति सचिव सुरजकुमार दुराद्वारा जारी पत्रमा भनिएको छ ।

‘तसर्थ हवाई भाडा दरमा नियन्त्रणमा गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा आवश्यक निर्देशन हुन माननीय सभापतिज्यूको निर्देशानुसार अनुरोध गर्दछु’, सचिव दुराले भनेका छन् ।

बाढी, पहिरो र डुबानका कारण मुलुक प्राकृतिक प्रकोपमा परेका बेला हवाई सेवा प्रदायक निजी जहाज कम्पनीहरूले मनपरी रुपमा भाडा बढाएका छन् । हवाई टिकटमा कालोबजारी गरेपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई टिकटको भाडामा ध्यान दिन निर्देशन दिएका छन् ।

काठमाडौंदेखि भैरहवासम्म करीव ४५ सय हवाई भाडा रहेको छ । तर, जहाज कम्पनीहरूले काठमाडौंदेखि भैरहवासम्मको टिकट भाडा १० हजारसम्म लिएका छन् । यो सिधै कालोबजारी भएको भन्दै आलोना भएपछि समितिका सभापति खतिवडाले चासो जनाएका छन् ।

Published : Sunday, 2024 September 29, 3:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया