पूर्वजानकारी हुँदा पनि सरकारले उद्धारको तयारी गर्न सकेन, फितलो प्रयास : शंकर भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले उद्दार र राहतका कार्यलाई तिव्रता दिन गृह मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, नेपाली कांग्रेसका कार्यकर्ता तथा आम जनसमुदायमा अपील गरेका छन् ।

आइतबार विज्ञप्ति जारी गरेर पूर्वमन्त्री समेत रहेका भण्डारीले केही दिन अगाडिदेखि नै जल तथा मौसम विज्ञान विभागले देशमा ठूलो पानी पर्ने जोखिमको जानकारी पर्याप्त मात्रामा प्रवाह गरेको बताए ।

‘यसरी पूर्व सूचना प्राप्त हुँदाहुँदै पनि जनधनको रक्षा गर्नका लागि सरकारले जे जति तयारी गर्नु पर्दथ्यो, जति सतर्कता अपनाउनु पर्दथ्यो त्यो गर्न सकेको देखिएन’, उनले भने ।

भण्डारीले भने, ‘देशमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायतका निकाय रहेका छन् । यस्ता निकायको काम विपद् न्यूनीकरण गर्नु र विपदको समयमा गर्नुपर्ने कार्यको पूर्व तयारी गर्नु हो, तर यस्तो विपद् आउँदैछ भनेर समयमा नै जानकारी हुँदाहुँदै पनि नेपाल सरकार र त्यसमा पनि गृह मन्त्रालयको तयारी नपुगेको हो वा त्यसलाई संवेदनशील हिसावले नलिएको हो प्रश्न सिर्जना भएको छ ।’

उनले भने, ‘अन्यत्रको कुरा त छाडौ देशको राजधानी जहाँ देशका सबै स्रोत साधनको उपलब्धता छ, हजारौको संख्यामा तालिम प्राप्त उच्च जक्ष जनशक्ति उद्धारमा परिचालन गर्न सक्ने अवस्था छ । त्यस्तो स्थानमा पनि घण्टौंसम्म उद्धारको प्रतिक्षामा रहेर नागरिकको ज्यान जानु भनेको अक्षम्य घटना हो ।’

‘यो घटनाको जिम्मेवारी सरकारले लिनु पर्दछ भन्ने मेरो माग छ । साथै देशभरमा भएका घटनामा नागरिकको जीउ धनको रक्षाको लागि सरकारले गरेका प्रयास अत्यन्त फितलो, अपर्याप्त र झराटार्ने खालको देखिएको तथ्य कहि कतै छिपेको छैन’, उनले भने, ‘यसतर्फ आम नागरिकको जस्तै मेरो पनि गम्भिर ध्यान आकर्षण भएको छ ।’

‘यस घटनाले मुलुकमा गम्भिर प्रश्न सिर्जना गरेको छ’, नेता भण्डारीले भने, ‘सरकारका विद्यमान संरचनाहरू गतिशील हुनै नसक्ने अवस्थामा पुगेका हुन् ? कोही कसैप्रति जवाफदेही हुनै नपर्ने अवस्था कसरी सिर्जना भयो ? भन्ने जस्ता प्रश्नको जवाफ खोजेर विद्यमान अवस्थाको पर्नुसंरचना गर्ने, सक्षम जनशक्ति तयार पार्ने, आवश्यक उपकरणको प्रबन्ध गर्ने र सम्बन्धित निकाय तथा अधिकारीलाई यस्ता लापरवाहीमा जवाफदेही बनाउने प्रणाली विकास गर्नु आवश्यक छ ।’

‘देशभर भएका घटनाप्रति दुःख व्यक्त गर्दै समस्यामा परेकाको तत्काल उद्धार, घाइतेहरूको पूर्ण निःशुल्क उपचार र सम्पतीमा भएको क्षतिको तत्काल क्षतिपूर्तिको प्रबन्ध गर्न तथा आगामी दिनमा यस्ता घटनाहरू दोहरिन नदिन पर्याप्त तयारी गर्नका लागि सरकारसंग माग गर्दछु’, नेता भण्डारीले भने ।

Published : Sunday, 2024 September 29, 10:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया