काठमाडौं उपत्यकासहित देशभरिमा ५३ जनाको मृत्यु, खोलाकिनारका घरहरू डुबे
काठमाडौं । बाढी, पहिरो र डुबानमा परेर देशभरिमा ५३ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरोमा परेर कयौं व्यक्ति बेपत्ता भएका छन् । वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ ।
काठमाडौं उपत्यकाका जिल्लाहरूमा ३२ जनाको मृत्यु भएको प्रहरीको प्रारम्भीक अनुमान छ । काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जनाको बाढी, पहिरो, डुबान र घर भत्केर मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरीका एसएसपी बसन्त रजौरले केही मानिसहरू हराइरहेको बताएका छन् । हराइरहेकाहरूको खोजी जारी रहेको उनले बताए ।
भक्तपुरको आसापुरी र पालासेमा पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । बाढीमा फसेका ९ जनालाई मोर्डन स्कुल क्षेत्र र २ जनाको च्याम्हसिंहबाट उद्धार गरिएको छ ।
ललितपुरबाट २ जनालाई हेलिकप्टर र २ सय ८१ जनालाई प्रहरी, सशस्त्र र सेनाले विभिन्न स्थानबाट सकुशल उद्धार गरिएको छ ।
ललितपुरको नख्खु खोलाले बगाउँदा नखिपोट क्षेत्रबाट ४ जना बेपत्ता भएकोमा ३ जनाको उद्धार गरिएको छ ।
ललितपुरको गोदावरीमा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण बागमती, बिष्णुमती, रुद्रमति, नख्खु, बल्खुलगायतका नदी तथा खोलाको बहाव खतराको तहभन्दा माथि बगिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उपत्यकाका अधिकांश नदी किनारका वस्ती डुबानमा परेका छन् । थुप्रै क्षेत्र जलमग्न बनेका छन् ।
उपत्यकाभित्र खोलाकिनारमा रहेका सयौं घर डुब्दा स्थानीयको बिचल्ली भएको छ । मनोहरा, बागमती, विष्णुमतीलगायतका नदीमा आएको बाढी करिडोर पार गरेर बस्तीसम्म पसेको छ ।
बागमती, विष्णुमती,मनोहरा नदीमा बाढी आउँदा आसपासका बस्ती डुबेका छन् । बाढीले च्यासल, टेकु, बल्खु, नख्खु,गोंगबु क्षेत्र डुबेका छन् ।
बागमती–मनोहरा दोभानमा बाढीले ग्यास ट्याङ्कर नै बगाएको स्थानीयले बासिन्दाले बताएका छन् ।
च्यासलमा रहेको एमालेको पार्टी कार्यालय र फुटबल मैदानसहितको तटीय क्षेत्र डुबानमा परेको छ । ललितपुरको नख्खु–कुसुन्ती क्षेत्र पनि बाढीले प्रभावित बनेको छ ।
भक्तपुरमा राधेराधे क्षेत्र र हनुमन्ते खोला आसपासको क्षेत्र डुबानमा परेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया