परराष्ट्रमन्त्री डा.राणासँग न्यूयोर्कमा नेपाली संघ संस्थाद्वारा छलफल, एनआरएनए हेर्न छुट्टै विभाग बनाउनेबारे परामर्श
न्यूयोर्क । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाको न्यूयोर्कमा रहेका नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूसँग भेट गरेकी छिन् ।
स्थानीय समयअनुसार शुक्रबार डा.राणाले न्यूयोर्कमा नेपाली समुदायका विभिन्न संघ/संस्थाका साथीहरूसँग छलफल भएको बताएकी छिन् ।
उनले भनिन्, ‘विदेशमा बस्ने नेपालीहरूका लागि गैर आवासीय नागरिकतामा देखिएको प्रक्रियागत झन्झट, गैर आवासीय नेपालीहरू हेर्ने गरी परराष्ट्र मन्त्रालयमा छुट्टै विभाग स्थापना लगायतका विषयहरू छिटै समाधान गर्ने प्रयास गर्नेछु ।’
‘गैर आवासीय नेपालीहरूलाई गैरसरकारी संस्थाको रुपमा भन्दा पनि सरकारकै अंगको रुपमा स्थापना गर्ने विषयमा पनि हामीले छलफल गरिरहेका छौं’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।
‘विदेशमा बस्ने नेपालीहरूले नेपालमा समस्या परेका बेलामा धेरै ठूलो सहयोग गर्दै आउनु भएको छ’, डा.राणाले भनेकी छिन् ।
‘भूकम्पको बेलामा होस् वा कोभिडको महामारीका बेलामा वा अन्य विपत्तीका समयमा उहाँहरूले साथ र सहयोग प्रदान गर्दै आउनु भएको छ’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।
डा.राणाले भनिन्, ‘विदेशमा बस्ने नेपालीहरूको हितमा नेपाल सरकारले गर्नुपर्ने सहजीकरणका लागि म सदैव तयार र तत्पर नै छु ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया