सहकारी ठगेर फरार एमालेका नेता एवम् ढोरपाटनका मेयर दिल्लीमा पक्राउ

काठमाडौं । इमेज सहकारी ठगी मुद्दामा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतमा पक्राउ परेका छन् ।

एमालेका नेता समेत रहेका मेयर नेपालीलाई नयाँ दिल्लीस्थित विमानस्थलबाट पक्राउ गरिएको हो ।

इन्टरपोलले नेपालीलाई रेड नोटिस जारी गरेको थियो । इन्टरपोलसँगको समन्वयमा नेपाली पक्राउ परेको बुझिएको छ ।

मेयर नेपालीलाई काठमाडौं ल्याउने प्रक्रिया अघि बढाइने नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिएका छन् ।

मेयर नेपालीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोप छ ।

उनीहरूविरुद्ध १ हजार ५ सय ५० जना सर्वसाधारणले प्रहरीमा जाहेरी दिएका थिए । पीडितहरूको जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा सङ्गठित ठगीको मुद्दा दायर गरेका छन् ।

Published : Friday, 2024 September 27, 10:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया