लागुऔषध काण्डमा रास्वपाका पूर्वसांसद धरौटीमा छुटे

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ ७५ हजार रुपियाँ धरौटीमा छुटेका छन् ।

पूर्वसांसद श्रेष्ठलाई जिल्ला अदालत कास्कीले बिहीबार धरौटीमा छाड्न आदेश दिएको हो । श्रेष्ठ लागुऔषध बेचबिखनको आरोपमा भदौ २७ गते पक्राउ परेका थिए ।

अदालतले आदेश दिएसँगै ७५ हजार रुपियाँ धरौटी बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त शर्माले बताएका छन् ।

लागुऔषध ट्याबलेटसहित पक्राउ परेका पोखरा महानगरपालिका–४ का ४२ वर्षीय प्रकाश थापाको बयानका आधारमा प्रहरीले पूर्वसांसद श्रेष्ठलाई पक्राउ गरेको थियो ।

लागुऔषध बेचबिखनमा पक्राउ परेका श्रेष्ठलाई यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले अनैतिक गतिविधि गरेको भन्दै सांसद र पार्टी सदस्यबाट निष्कासन गरेको थियो ।

आफू मन्त्री बन्न पार्टी सभापति रवि लामिछानेको टिमले २ करोड रूपियाँ मागेको भन्दै श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग टेलिफोन वार्तामा दिन भनेका थिए ।

टेलिफोन संवाद सार्वजनिक भएपछि उनलाई रास्वपाले कारबाही गरेर सांसद र पार्टी सदस्यबाट निकालेको थियो ।

Published : Thursday, 2024 September 26, 7:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया