विवादित महिला ईन्स्पेक्टरको जिम्मेवारी खोसियो, छानविन समिति गठनसहित अनुसन्धान

काठमाडौं । ललितपुर प्रहरी परिसरअन्तर्गतको प्रहरी प्रभाग भैंसेपाटीकी प्रहरी निरीक्षक (ईन्स्पेक्टर) बिनुकुमारी शाहीको जिम्मेवारी खोसिएको छ ।

ईन्स्पेक्टर शाहीलाई भैंसेपाटीबाट फिर्ता बोलाएर आवश्यक छानबिन थालिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख (एआईजी) किरण बज्राचार्यले बताएकी छिन् । ईन्स्पेक्टर शाहीलाई भैंसेपाटीबाट झिकाएर रानीपोखरीमा हाजिरी गराएको बज्राचार्यले बताएकी छिन् । उनले घटनाको बारेमा अनुसन्धान शुरु भएको बताइन् ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी एवम् प्रवक्ता विनोद घिमिरेले ईन्स्पेक्टर शाहीबारे कार्यालयमै लेनदेनसम्बन्धी कुराको विवाद आएको बताउँदै भैंसेपाटीबाट तानेर छानबिन अघि बढाएको उल्लेख गरेका छन् ।

शाहीमाथि बलात्कारसम्बन्धी मुद्दामा हनी ट्रयापिङ गिरोहसँग मिलेर आर्थिक लेनदेन गरेको आरोप लागेको छ ।

ईन्स्पेक्टर शाही जेठ २३ मा भैंसीपाटी प्रभागमा सरुवा भएर गएकी थिइन् । बलात्कार आरोपमा मोरङ निवासी एकजना व्यापारीलाई भैंसेपाटी प्रभागमा थुनिएको थियो । ती व्यापारीको मुद्दा मिलाउने नाममा हिरासतमै ईन्स्पेक्टर शाहीको उपस्थितिमा ३० लाख रुपियाँ लेनदेन गरिएको खुलेको छ ।

असोज ७ गते युवतीले मोरङका ती व्यापारीलाई भैंसेपाटीमा बोलाएकी थिइन् । युवतीकै उजुरीका आधारमा प्रहरीले व्यापारीलाई पक्राउ गरेको थियो ।

प्रहरी प्रभाग परिसरमै व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने धम्कीसहित बार्गेनिङ गरेको आरोप छ ।

पीडित भनिएकी युवतीले प्रहरीका सामु व्यापारीसँग ६० लाख रुपियाँ मागेको आरोप छ । बार्गेनिङका क्रममा ३० लाखमा सहमति गरिएको खुलेको छ ।

बार्गेनिङका क्रममा प्राप्त भएको ३० लाखमध्ये २० लाख रुपियाँ युवतीका साथीको खातामा हालिएको थियो । बाँकी १० लाख रुपियाँ भने चेकका रुपमा दिएर व्यापारी प्रभागबाट रिहा भएका थिए ।

ईन्स्पेक्टर शाहीमाथि छानबिनका लागि ललितपुर प्रहरी परिसरले डीएसपी नरहरि अधिकारीको संयोजकत्वमा छानविन समिति बनाएको छ । ७ सदस्यीय समितिले घटनाको अनुसन्धान गर्नेछ ।

यसअघि, ईन्स्पेक्टर शाही कञ्चनपुर जिल्लामा विवादमा परेकी थिइन् । निकै विवादित छवि बनाएकी ईन्स्पेक्टर शाहीको आचारणमा सुधार भएको छैन ।

Published : Thursday, 2024 September 26, 3:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया