उपकुलपतिले त्रिविमा एमाले निकटलाई नियुक्त गर्न खोजेपछि नेविसंघको विरोध
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयमा योग्यताभन्दा निकटतालाई आधार बनाएर डीन, विभागीय प्रमुख र क्याम्पस प्रमुखहरू नियुक्त गर्न खोजिएको भन्दै विरोध प्रदर्शन गरेको छ ।
बुधबार नेविसंघले उपकुलपतिले योग्यताभन्दा निकटतालाई आधार बनाएर डीन, विभागीय प्रमुख र क्याम्पस प्रमुखहरू नियुक्त गर्न खोजेको भन्दै त्यसको विरोध गरेको हो ।
नेविसंघको नेतृत्वमा संयुक्त विद्यार्थी संघर्ष समितिले त्रिवि उपकुलपतिको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।
उपकुलले मेरिटोक्रेसीलाई भन्दा निकटताका आधारमा वर्णानुक्रमलाई पछ्याउन खोजेको विद्यार्थीहरूको आरोप छ ।
नेविसंघकी केन्द्रीय सदस्य प्रेमिका राना मगरले भनिन्, ‘लिखित परीक्षा हुने, अन्तरवार्ता हुने र नम्बर पनि चढाइने, तर अन्तिममा नम्बर ल्याउने उम्मेदवार छनोट नहुने कुरा हामीलाई स्वीकार्य छैन ।’
‘मेरिटोक्रेसी भनेपछि त्यसमा योग्यता हेर्ने हो । दायाबायाँ हुनुहुँदैन’, उनले भनिन्, ‘यदि त्यस्तो भयो भने त्यो विद्यार्थीहरुको भविष्यमाथिको खेलवाड हो । त्यो हामीलाई स्वीकार्य छैन ।’
एमाले निकटका उपकुलपति केशरजंग बरालले शिक्षामन्त्री विद्या भट्टराईको आदेशमा एमाले निकटका व्यक्तिलाई नियुक्त गर्न खोजेपछि नेविसंघसहितका विद्यार्थी संगठनहरूले विरोध गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया