सहकारी ठगका आरोपी रवि लामिछानेले दिए कान्तिपुरलाई घेराउ गर्ने धम्की
काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा संसदीय छानविन समितिबाट कारबाही सिफारिसमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ पर्ने डरले निकै डराएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेको लामिछानेको स्टाटसले उनी छिटै पक्राउ पर्ने देखाएको छ । लामिछानेले आफ्नो विरुद्ध प्रमाणसहित समाचार लेखेर नङ्ग्याउने कान्तिपुर दैनिकलाई गालीगलौज गरेका छन् । लामिछानेले कान्तिपुर दैनिकमा आफ्ना कार्यकर्ताहरू ल्याएर घेराउने गर्नेसम्मको धम्की दिएका छन् ।
लामिछानेले भने, ‘हिजो राति दिएको बयान हिजै कान्तिपुरले पाइसकेछ । आजै छापीपनि सकेछ ।’
‘बयान पनि कस्तो ठ्याक्कै कान्तिपुरलाई चाहिएको जस्तै फेरि ? संसदीय समितिमा छविलाल जोशीका बयानको मसी सुकेको छैन’, लामिछानेले भने ।
‘महिना दिनअघिका ताजा बयान लिखित रुपमा सार्वजनिक छन् । कान्तिपुरको नियतबारे त मैले फेरि भनिराख्नु परेन । गलत लेख्ने फेरि माफी माग्ने, फेरि अफवाह लेख्ने, फेरि माफी माग्ने’, पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले भनेका छन् ।
‘मलाई कसरी फसाउन सकिन्छ भनेर रचिदै गरेको षड्यन्त्रबारे कान्तिपुरले आज क्वेश्न आउट गरेछ, सूचना चुहाएर हाम्रो आशंकालाई सहि सावित गराएछ’, उनले भने ।
‘जसरी खोया काण्डमा पहिले नै समाचार लेखियो र पछि माफी पनि मागियो । सहकारी ठगीमा संलग्न नभएको मान्छे सहकारी ठगीमा प्रतिवादी कसरी हुन्छ ? पत्रिकाको फस्ट पेजदेखि लास्ट पेजसम्म रवि रवि रवि लेखेर हुने हो र ? यस्तो घिन लाग्दो मिडिया ट्रायल कान्तिपुरले गर्नु नौलो कुरा होइन’, उनले भनेका छन् ।
‘एउटै समाचारले मान्छेको करियर सक्काउन सक्छु भन्ने घमण्डले चुर कान्तिपुरले आफ्नो पूरै शक्ति र सम्पत्ति मेराविरुद्ध लगाउछु भनेको जानकारी मलाई छ । न्याय र सत्य पनि किन्छुभन्दा आज कहाँ पुग्यो कान्तिपुर’, उनले भने ।
‘इतिहासमा लोकतन्त्रको पक्षमा सबैभन्दा धेरै लेख्ने मिडिया कान्तिपुर भन्थे तर, आजको मितिमा सबैभन्दा बढि अफवाह फैलाउने र माफी माग्ने मिडिया कान्तिपुर प्रमाणित भएको छ’, लामिछानेले भने ।
‘उसले लाज पचाएर माफि नमागेका समाचार त कति छ्न् कति । म त सामान्य संचारकर्मी बाट देशको उपप्रधानमन्त्री मन्त्री र २१ सांसदसहित चैथो दलको नेतासम्म भैसकें’, लामिछानेले भने ।
‘एउटा आम मान्छेका लागि यो आफैमा गौरव हो । म यहि मोडमा हारें भनेपनि त्यति तल झर्दिन जति तल आज त्यत्रो गौरव बोकेको कान्तिपुर झरिसक्यो । मेरो लडाइँ त बाँकी छ । तर त्यो कान्तिपुर सँगै होइन’, लामिछानेले भने ।
‘अब सरकारले जवाफ दिनुपर्छ, कान्तिपुरलाई खुसी नपारी बाँच्न नपाइने हो ? तिम्रो मालिक कान्तिपुर होला मेरा मालिक जनता हुन्’, लामिछानेले भने, ‘समिति, प्रहरी, अदालत भन्दा कान्तिपुर ठूलो हो भने ठीक छ । म कान्तिपुरसँग कुरा गर्न आउँछु । आफ्ना भए भरका पत्रकार र प्रश्न ठीक पारेर राख्नु । सारा जनताले हेर्ने गरी तिम्रो प्राङ्गणमा वा सार्वजनिक स्थानमा लाईभ गर्ने व्यवस्था गर्नु । परेको जिम्मा सरकारले र कान्तिपुरले लियोस् । यो अत्याचारविरुद्ध म लड्छु ।’
सहकारी ठगका आरोपी लामिछानेले भने, ‘यदि यसो होइन भने, सरकारले तुरुन्तै आज कान्तिपुरमा प्रकाशित समाचारको खण्डन गरोस् र भ्रम छर्ने कान्तिपुरलाई तुरुन्तै कारबाहीको दायरामा ल्याओस् । अब कान्तिपुरले मागेको माफीले मात्रै पुग्दैन ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया