मुख्यमन्त्री लामाद्वारा न्यूनतम साझा कार्यक्रममा केन्द्रित भई काम गर्न मन्त्रीहरूलाई आदेश

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेशका मन्त्रीहरूलाई न्युनतम साझा कार्यक्रमभित्र रहेर काम गर्न निर्देशन दिएका छन् ।

मंगलवार हेटौँडामा मुख्यमन्त्री लामाले सबै मन्त्रीहरूलाई बोलाएर न्यूनतम साझा कार्यक्रममा केन्द्रित रहेर काम गर्न निर्देशन दिएका हुन् ।

उनले भने, ‘जनताको हितमा हुने न्यूनतमा साझा कार्यक्रम हामीले ल्याएका छौँ । त्यसकारण सबै मन्त्रीहरूलाई त्यसैमा टेकेर काम गर्न निर्देशन दिएका हौँ ।’

मुख्यमन्त्री लामाले चाडपर्वमा आइपर्ने समस्या समाधान गर्नसमेत सम्बन्धित मन्त्रालयका मन्त्रीलाई निर्देशन दिएका छन् ।

प्रदेश सरकारले फजुल खर्च कटौती गरी आर्थिक अनुशासनलाई कडाइका साथ पालना गरिने, संविधान संशोधनका लागि संघीय सरकारलाई सहयोग गर्ने, योजना बैंक स्थापना गर्ने, सार्वजनिक विद्यालय गाभ्ने कार्यक्रमलाई प्रभावकारी बनाइनुका साथै तीन वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार दिने न्यूनतम साझा कार्यक्रममा समेटिएको छ ।

आइतवार बागमती प्रदेश सरकारले ६७ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनि गरेको थियो ।

६७ बुँदे न्यूनतम साझा कार्यक्रममा प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीलाई विशेष प्राथमिकता दिएका छन् ।

प्रदेश प्रहरी ऐन, अनुसन्धान ब्यूरो स्थापना, निजामती कर्मचारी ऐन र भौतिक पूर्वाधारलाई विशेष प्राथमिकता दिने उल्लेख गरिएको छ ।

Published : Tuesday, 2024 September 24, 10:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया