सरकार आधारभूत सेवालाई जनस्तरसम्म लैजान प्रयासरत छ : सभापति देउवा
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयता कार्यान्वयनपछि मुलुक शिक्षा र स्वास्थ्यमा क्रमशः आत्मनिर्भर बन्दै गएको बताएका छन् ।
मंगलबार पर्साको पटेवा सुगौली गाउँपालिकाको नवनिर्मित आधारभूत अस्पताल भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले संघीयतालाई थप बलियो बनाउँदै नागरिकहितमा काम गर्नुपर्ने बताए ।
उनले भने, ‘मुलुक संघीय संरचनामा गइसकेपछि सोही ढाँचाअनुसार नै क्रमशः शिक्षा र स्वास्थ्य क्षेत्रको विकास हुँदै गइरहेको छ ।’
‘सरकारले आधारभूत सेवालाई जनस्तरसम्म पुर्याउनका लागि अधिकतम प्रयास गर्दै आइरहेको छ, जसको फलस्वरूप आज पनि अस्पताल स्थापना भएको छ’, देउवाले भने ।
‘अहिले जनताको सबैभन्दा ठूलो आवश्यकता नै स्वास्थ्य उपचार र शिक्षा हो’, उनले भने, ‘यी दुवै कुराको सम्बोधनका लागि सरकारले ध्यान दिइरहेको छ । यो विगतदेखि नै सरकारको नीति हो ।’
सभापति देउवाले आधारभूत अस्पताललाई जनतालाई स्वास्थ्य सेवा प्रभावकारी ढङ्गले प्रवाह गर्न गरेका छन् ।
अस्पतालले पालिकाका मात्र नभइ अन्य क्षेत्रका बिरामीलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्ने सभापति देउवाले बताएका छन् ।
देउवाले जनहितका काम गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् ।
१० शय्याको अस्पताल भवन ७ करोड १० रुपियाँमा सकार गरी मिलिनियम÷सागर जेभी ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको हो ।
निर्माण लागतको ६० प्रतिशत अनुदान संघीय सरकारको र ४० प्रतिशत योगदान गाउँपालिकाको रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया