देउवा प्रधानमन्त्री भएका बेला सुरक्षित गर्भपतन र प्रजनन् अधिकारकाे कानूनी आयो : डा.राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालले प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको बताएकी छिन् ।
सोमबार न्यूयोर्कमा महिला राजनीतिक नेताहरूको उच्चस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री डा.राणाले बिगत सम्झँदा निकै कहालीलाग्दो अवस्था भएपनि पछिल्ला बर्षहरुमा नेपालले यस क्षेत्रमा प्रगति गरिरहेको बताइन् ।
‘सबैभन्दा पहिला त खुसीको कुरा म के सुनाउन चाहन्छु भने नेपालको वर्तमान संविधानले महिलाको प्रजनन् अधिकार र सुरक्षित मातृत्वको विषयलाई मौलिक हकअन्तर्गत नै राखेको छ’, उनले भनिन् ।
‘संविधानको मौलिक हकमा यो व्यवस्था राख्ने एसियाका थोरैमध्यको नेपाल पनि एक देश हो’, डा.राणाले भनिन्, ‘महिलालाई दिइएको प्रजनन अधिकारका क्षेत्रको यो सबैभन्दा बलियो कानुनी प्रावधान हो भन्ने मलाई लाग्दछ ।’
परराष्ट्रमन्त्री डा.राणाले बिगतमा असुरक्षित गर्भपतनका कारण नेपालका कैयौँ महिलाको ज्यान जाने गरेको बताएकी छिन् । उनीहरू कानूनी कारबाहीको भागिदार बन्नुपरेको र कैयौँ महिला जेल पर्ने गरेको प्रसङ्ग पनि उनले बताएकी छिन् ।
‘एक समय त यस्तो पनि थियो कि जेलमा परेका एक सयजना महिलामध्ये आधाभन्दा बढी त भ्रुण हत्याको अभियोगमा थिए’, डा.राणाले भनिन् ।
‘यसमा पुरुषहरूको दोष या अपराध भने कतै देखाइँदैनथ्यो । हामीले ती महिलाको पक्षमा वकालत गर्यौं र उनीहरूलाई जेलमुक्त गरायौँ’, मन्त्री डा.राणाले भनिन् ।
‘अहिले त्यस्तो अवस्था छैन । महिलाहरूले सुरक्षित रुपमा गर्भपतन गराउने अधिकार पाएका छन् र सुरक्षित छन्’, उनले भनिन् ।
महिलाहरूको यो अवस्थाका विरुद्धमा आफूहरू विगत लामो समयदेखि संघर्ष गरेको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।
‘नेपालका महिलाको अवस्था यस्तो भएपछि हामीले महिलाको प्रजनन् अधिकारका पक्षमा अभियान नै चलायौँ’, उनले भनिन्, ‘संयोगबस मेरा श्रीमान् शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री बन्नुभयो र विशेषगरी यस विषयमा मेरो नेतृत्वमा नेपालका सबै पार्टीका महिलाले ‘लबिङ’ गरेका थियौँ । त्यसपछि सुरक्षित गर्भपतन र महिलाको प्रजनन् अधिकारसम्बन्धी कानूनी प्रावधान आयो ।’
वर्तमान संविधानमा प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्वसम्बन्धी अधिकारको व्यवस्था राख्नका लागि आफूहरूले संघर्ष गरेको डा.राणाले बताएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘संविधान तयार पारिरहेको तत्कालीन संविधानसभाका छ सय एकमध्ये हामी दुई सय ७३ सदस्य त महिला नै थियौँ । हामीले तयार पारेको पहिलो मस्यौदा नै गायब पारिएछ । कुनै पुरुष सांसदले त्यो गायब पारेहोलान् भन्ने लाग्यो । पछि सबै पार्टीका महिला सांसद एक भयौँ र दबाब दिएर त्यसलाई पारित गराएरै छोड्यौँ ।’
विकसित राष्ट्रहरूका तुलनामा नेपालको कूल ग्राहस्थ्य उत्पादन अत्यन्तै थोरै भए पनि मानव विकास सूचकाङ्कमा भने नेपालले प्रगति गरिरहेको मन्त्री डा.राणाले बताएकी छिन् ।
महिलाको प्रजनन् अधिकार, सुरक्षित मातृत्व र अन्य धेरै यस्तै महिला अधिकारका कारण यो सम्भव भएको उनले बताएकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया