इजरायल र प्यालेस्टाइनको समस्याको समाधान टु स्टेट सोलुसनबाट हुनु पर्छ : परराष्ट्रमन्त्री डा.राणा

न्यूयोर्क । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इजरायल र प्यालेस्टाइनबीचको समस्याको समाधान ‘टु स्टेट सोलुसन’बाट हुनु पर्ने बताएकी छिन् ।

अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्र संघको ७९औं महासभाका क्रममा असंलग्न अभियानको मन्त्रिस्तरीय बैठकमा सम्बोधन गर्दै डा.राणाले भनिन्, ‘इजरायल–प्यालेस्टाइन समस्याको समाधान टु स्टेट सोलुसनबाट हुनु पर्छ ।’

राष्ट्र संघले सन् १९४७ मै ती दुई मुलुकबीचको समस्याको समाधान टु स्टेट सोलुसनबाटै हुनु पर्ने प्रस्ताव अघि बढाएको थियो ।

संयुक्त राष्ट्रसँघ हालसम्म पनि उक्त प्रस्ताव अघि बढाएर कार्यान्वयनमा जान सकेको छैन ।

नेपालले पनि लामो समयदेखि इजरायल र प्यालेस्टाइन दुई मुलुक भएर शान्तिपूर्ण रूपमा बस्नु पर्ने कुरा उठाउँदै आइरहेको छ ।

उक्त मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्री डा.राणाले इजरायल र प्यालेस्टाइनबीचमा तुरुन्त युद्धविराम हुनु पर्ने बताएकी छिन् ।

डा.राणाले हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशीसहित अन्य बन्दीलाई छाड्नु पर्ने बताइन् । उनले त्यसका लागि सम्पूर्ण विश्वको ऐक्यबद्धता हुनुपर्ने बताएकी हुन् ।

परराष्ट्रमन्त्री डा.राणाले विश्वका चुनौतीहरूलाई सम्बोधन गर्दै बहुपक्षता, ऐक्यबद्धता तथा संयुक्त काममा आग्रह गरेकी छिन् ।

Published : Tuesday, 2024 September 24, 10:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया