कृषिमन्त्री अधिकारी र भारतीय राजदूत श्रीवास्तवबीच भेट

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन् ।

सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा अधिकारी र श्रीवास्तवबीच दुईपक्षीय हितका विषयमा छलफल भएको हो ।

मन्त्री अधिकारीले नेपाल–भारत सम्बन्धहरू मित्रता र सहयोग, सार्वभौम समानता, आपसी सम्मान र विश्वासका सिद्धान्तहरूमा आधारित रहेको बताए ।

कृषि क्षेत्रमा लगानी र विकासका लागि नेपाल सरकार लागि परेको जनाउँदै मन्त्री अधिकारीले त्यसमा भारत सरकारको थप सहयोग अपेक्षा राखेको बताए ।

उनले नेपालका कृषिजन्य उत्पादनहरूलाई भारतीय बजारमा सहज पहुँच पुर्‍याउन सहजीकरणका लागि आग्रह गरेका छन् । अधिकारीले भने, ‘यसले दुई देशबीचको आर्थिक सम्बन्ध र व्यापार प्रवर्द्धनलाई बलियो बनाउनेछ ।’

उनले सीमा क्षेत्रमा पशुपन्छी रोग नियन्त्रणका लागि दुवै देशबीचको सहकार्यलाई निरन्तरता दिन आवश्यक रहेको बताए । मन्त्री अधिकारीले खोरेँत साथै विभिन्न पक्षी फ्लुजस्ता रोगहरूको रोकथाम तथा कृषि उपजको आयात निर्यातको लागि सीमा क्षेत्रमा थप क्वारेनटाइन व्यवस्थाहरू मजबुत बनाउन एकीकृत उपाय अपनाउन आग्रह गरेका छन् ।

नेपालमा रासायनिक मलको सहज आपूर्तिका लागि भारत सरकारबाट आगामी दिनमा पनि निरन्तर सहयोगका लागि मन्त्री अधिकारीले भारतीय राजदूत श्रीवास्तवसँग आग्रह गरेका छन् ।

Published : Monday, 2024 September 23, 6:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया