डलर साट्ने भनेर ४० लाख ठगेर भागेका ठगहरू काठमाडौंबाट पक्राउ

काठमाडौं । अमेरिकन डलर देखाई ठगी गर्ने तीन जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सर्लाहीको बागमती नगरपालिका–१ घर भई हाल भक्तपुरको जगाते भातेढिकुरे बस्ने ३० वर्षीय साजन भन्ने लालबहादुर घिसिङ रहेको विज्ञप्तिमा उल्लेख छ ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ घर भई हाल भक्तपुरको ठिमी बस्ने २० वर्षीय सुनबहादुर तामाङ र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ कर्थली घर भई हाल भक्तपुरको सूर्यविनायक कटुन्जे बस्ने २९ वर्षीय भीमबहादुर तामाङ रहेको सोमबार जारी विज्ञप्ति उल्लेख छ ।

भक्तपुरको चाँगुनारायणबाट एक जना पीडिलाई गत भदौ २८ गते अमेरिकन डलर देखाई नेपाली नगद साट्दा फाइदा हुने भनि प्रलोभनमा पारी नगद ४० लाख रूपियाँ ठगी गरी फरार रहेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको हो ।

प्रारम्भीक अनुसन्धानको क्रममा उनीहरूले अमेरिकन डलर साट्ने भन्दै गत असोज २ गते धादिङ घर भई काठमाडौंको कलंकी बस्ने एकजना पीडितलाई काठमाडौंको स्युचार बोलाई नगद ७ लाख रूपियाँ, काठमाडौंको नागार्जुन नगरपालिका–६ टौखेलबाट गत भदौ ३१ गते चितवन घर भएका एकजना पीडितबाट नगद ५ लाख रूपियाँ, भक्तपुरको सूर्यविनायकबाट साउन २० गते काठमाडौंको बागबजार बस्ने एकजना पीडितबाट नगद १० लाख रुपियाँ र भक्तपुरको गठ्ठाघरबाट गत चैत १३ गते काठमाडौंको तार्केश्वर नगरपालिका–२ बस्ने एकजना पीडितबाट नगद २ लाख रूपियाँ ठगी गरेको खुल्न आएको छ ।

उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

Published : Monday, 2024 September 23, 6:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया