सभापति देउवासँग इप्पानका पदाधिकारीहरूद्वारा भेट, आयोजनाको समस्या हटाइदिन आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँगस्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरूले भेट गरेका छन् ।
आइतबार बुढानिलकण्ठस्थित निवासमा सभापति देउवासँग इप्पानको टोलीले भेट गरेर जलविद्युत आयोजना निर्माणमा वन क्षेत्रका समस्याहरू समाधानका लागि पहल गर्न आग्रह गरेको हो ।
सभापति देउवाले निकुञ्ज तथा संरक्षण क्षेत्रले जलविद्युत आयोजना निर्माणमा पुर्याएका अवरोध हटाउन पूर्ण रूपमा सहयोग गर्ने बताएका छन् ।
ऊर्जा र वन मन्त्रालयको नेतृत्व कांग्रेसले पाएको छ । यस क्षेत्रका समस्या समाधानका लागि पहल गरिदिन इप्पानले देउवालाई आग्रह गरेको छ ।
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले जलविद्युत आयोजनाको निर्माण पहाडी र हिमाली क्षेत्रमा मात्रै हुने र ती क्षेत्र कुनै न कुनै निकुञ्ज वा संरक्षण क्षेत्रका नाममा राखिएकाले ती क्षेत्रमा पहिचान गरिएका १८ हजार मेगावाट क्षमताका २०० बढी जलविद्युत आयोजनाको भविष्य अन्यौलमा परेको बताए ।
निजी क्षेत्रले आयोजना पहिचान गर्न अर्बौं रुपियाँ खर्च गरिसकेकाले लगानीको सुरक्षाका लागि पनि आयोजना निर्माणमा सहजीकरण गरिदिन देउवासँग आग्रह गरेका छन् ।
मन्त्रिपरिषदले स्वीकृत गरेको संरक्षित क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि जग्गा उपलब्ध गराउने कार्यनीति २०८० समेत कार्यान्वयन नभएको सभापति देउवालाई जानकारी गराइएको छ ।
नेपालको जलविद्युत उत्पादनको क्षमता डिजाइन डिस्चार्ज (क्यू)का आधारमा ७२ हजार मेगावाटदेखि २ लाख मेगावाटसम्म रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया