वित्तीय अपराध नियन्त्रण गर्न प्रहरीमा व्यूरो गठनका लागि प्रस्ताव, समिति गठन

काठमाडौं । सरकारले वित्तीय अपराध नियन्त्रणका लागि नेपाल प्रहरीमा वित्तीय अपराध नियन्त्रण अनुसन्धान व्यूरो स्थापना गर्न गृहकार्य शुरु गरेको छ ।

त्यसका लागि गृह मन्त्रालयले समिति गठन गरेको छ । सहसचिव छविलाल रिजालको संयोजकत्वमा अध्ययन गर्न तथा सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न समिति गठन भएको छ ।

आइतबार प्रहरी प्रधान कार्यालय नक्सालको प्रस्तावमाथि गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर लगायतसँग परामर्श गरेका छन् ।

गृहमन्त्री लेखकले समितिलाई १५ दिनभित्र रायसुझावसहित प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।

व्यूरोका लागि १४२ जना प्रहरी कर्मचारीको दरबन्दी थप्नुपर्ने प्रस्ताव छ । वित्तीय अपराधका घटना बढिरहेको भन्दै व्यूरोका लागि ५० करोड रुपियाँ बजेट विनियोजन गर्नुपर्ने प्रस्ताव प्रहरी प्रधान कार्यालयको छ ।

Published : Sunday, 2024 September 22, 5:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया