हतार गरेर केन्द्रीय समितिले गठबन्धन गरौँ वा नगरौँ भनेर अहिले निर्णय गर्न जरुरी छैन : खतिवडा
इलाम । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ०८४ को निर्वाचनका विषयमा महाधिवेशनपछि आउने पार्टीको नयाँ नेतृत्व गठबन्धनको विषयमा निर्णय लिने बताएका छन् ।
शनिबार इलाममा आयोजित कांग्रेसको कार्यक्रममा खतिवडाले स्थानीय आवश्यक्ता र औचित्यताको आधारमा गठन्धन गर्ने वा नगर्ने त्यहि बेला निर्णय हुने बताए । उनले अहिलेको नेतृत्वले ०८४ को चुनावका विषयमा निर्णय गर्न नहुने बताए ।
नेता खतिवडाले भने, ‘पार्टीको महाधिवेशन हुँदैछ । अहिलेको केन्द्रीय नेतृत्व आदरणीय शेरबहादुर देउवा सभापति उठ्नु हुन्न र उहाँ सभापतिमा दुई पटक भन्दा जान चाहनु पनि हुन्न ।’
‘अब नयाँ नेतृत्व आउँछ कांग्रेसमा । नयाँ नेतृत्वले के गर्ने भनेर ०८४ मा ०८४ अगाडि त्यहि नेतृत्वले गर्छ’, उनले भने ।
‘अहिले हतार गरेर केन्द्रीय कार्यसमितिले गठबन्धन गरौँ/नगरौँ भनेर अहिले निर्णय गर्नुपर्ने जरुरी छैन’, खतिवडाले भने, ‘स्थानीय आवश्यक्ता र औचित्यताका आधारमा आवश्यक पर्यो भने गठबन्धन गर्छौं ।’
नेता खतिवडाले भने, ‘सबै शक्तिहरू एक भए पनि कांग्रेस यो तागत देखाउनुपर्छ । हामी सबै एक भयौँ भने कांग्रेसलाई हराउने तागत छैन ।’
‘कांग्रेसलाई हराउने कांग्रेसभित्रकै साथीहरू हौँ । आफूभित्रका साथीहरूलाई चिन्न नसक्दा कांग्रेसले कांग्रेसलाई हराउने रोगबाट गयौँ भने कांग्रेस बलियो पार्टी नहुने सम्भावना रहन्छ’, उनले भने ।
कांग्रेस नेता खतिवडाले भने, ‘गुटका आधारमा होइन, जुटका आधारमा तपाईहरूले साथ दिनुस् ।’
कार्यक्रममा नेपाली कांग्रेस इलामका जिल्ला सभापति डम्बरबहादुर खड्का लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया