प्रजातन्त्रलाई मतबुत बनाउन संविधान संशोधन गर्न सकिन्छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रलाई अझै मतबुत बनाउनका लागि संविधानमा संशोधन गर्न सकिने बताएका छन् ।
मंगलबार कांग्रेसको कानून विभागले वीपीनगर ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा देउवाले देउवाले लोकतन्त्र बलियो बनाउने गरी संविधानमा सुधार गर्न सकिने बताए ।
उनले भने, ‘ओलीजी प्रधानमन्त्री हुँदाखेरि उहाँले संविधानमा संशोधन गर्ने कुरा भन्नु भएको छ । त्योचाहिँ प्रजातन्त्रको खिलापमा होइन ।’
‘प्रजातन्त्रलाई अझै मजबुत बनाउने किसिमले संविधानमा सुधार हुने गरी संविधान संशोधन हुन सक्दछ’, सभापति देउवाले भने । कांग्रेस र एमाले प्रजातन्त्रका लागि लडेको पार्टी भएको उनले बताएका छन् ।
‘ओलीजीलाई मैले पहिलो पटक जेलमा भेटेको हो । प्रजातन्त्रका लागि हामी विद्यार्थी हुँदादेखि नै लड्दै आएको हो, जेलनेल भोगेको पार्टीहरू हो’, देउवाले भने ।
‘त्यसैले प्रजातन्त्रको खिलापमा कुनै पनि काम हुन सक्दैन’, सभापति देउवाले भने, ‘प्रजातन्त्रलाई कसरी मतबुत बनाउने र जनताकाप्रति कसरी जबाफदेही बनाउने भन्ने कुरा आवश्यक छ ।’
सभापति देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् । उनले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने बताए ।
‘प्रदेश संरचना बनिसकेको छ । प्रदेश संरचना हटाउन सक्ने स्थिति छैन’, उनले भने, कसरी अझ प्रभावकारी बनाउने सोच्ने विचार गर्ने हुनसक्छ ।’
उनले समानुपातिक प्रणालीमा प्रश्न उठेपनि समावेशीबारे कसैले प्रश्न नउठाएको बताएका छन् ।
कतिपय समुदायले अहिले पनि चुनाव जित्न नसक्ने भन्दै सभापति देउवाले भने, ‘त्यसैले समावेशी राजनीति चाहिन्छ । यसविरुद्ध जनमत छैन ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया