राज्यको आन्तरिक व्यवस्थामा सशस्त्र प्रहरी अब्बल सुरक्षा निकाय : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ऊर्जाशील र थप व्यवसायिक बनाउन प्रयत्नशील रहेको बताएका छन् ।
काठमाडौंमा आइतबार बिहान राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सि.स. १६ (क) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री लेखकले सुरक्षा निकायलाई समय अनकुल थप सुदृढ तथा सबल बनाउन विद्यमान ऐन, कानुन परिमार्जन गर्न विधयेकको कामअघि बढेको बताए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्माणका लागि विधेयकअघि बढाइएको बताउँदै लेखकले राज्य र जनताको सेवा तथा सुरक्षाका निम्ति सीमा सुरक्षा, मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापन, राजश्व चुहावट नियन्त्रणलगायतका क्षेत्रमा पु¥याएको योगदानका कारण सरकारको भरोसाको केन्द्रका रुपमा सुरक्षा निकाय रहेको बताए ।
गृहमन्त्री लेखकले राज्यको आन्तरिक व्यवस्थामा सशस्त्र प्रहरी बलले पुर्याउँदै आएको योगदानका कारण यो संगठन अब्बल सुरक्षा निकायका रुपमा स्थापित भएको बताएका छन् ।
उनले भने, ‘स्थापनाकालदेखि नै अत्यन्तै कुशलतापुर्वक आफ्नो जिम्मेवारी पूरा गरी राष्ट्रिय सुरक्षामा गर्विलो उपस्थिति कायम सशस्त्र प्रहरी संगठनले गरेको छ ।’
‘जिम्मेवारी सम्पादन गर्ने सिलसिलामा प्रर्दशन गरेको उच्च कार्यक्षमताका कारण नागरिकको अभिन्न सहयोगी संगठन बनेको छ’, गृहमन्त्री लेखकले भने ।
सशस्त्र प्रहरीले आफ्नो जनशक्तिललाई पेसागत रुपमा दक्ष एवं क्षमतावान बनाई राज्यप्रदत्त जिम्मेवारी त्रुटिरहित ढंगबाट सम्पादन गर्न सक्ने बनाउन विभिन्न किसिमका आधारभूत तथा उन्नत तालिमहरू सञ्चालन गरिरहेको लेखकले बताएका छन् ।
समारोहबाट ६८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित भएका छन् । समारोहमा गृहमन्त्री लेखकसँगै गृहसचिव गोर्कणमणि दुवाडी, सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँरलगायतको सहभागिता रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया