मन्त्रीद्वय राणा र न्यौपानेद्वारा थारु संग्राहलय चखौराको अवलोकन, प्रचार प्रसारका लागि सहयोग गर्ने

चखौरा । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणा र उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डबिक्रम न्यौपानेले चखौरामा रहेको थारु संग्राहलयको अवलोकन गरेका छन् ।

शनिबार मन्त्रीद्वय राणा र न्यौपानेले थारु संग्राहलयको अवलोकन गरेर आन्तरिक पर्यटनलाई प्रचार प्रसार आवश्यक रहेको बताएका छन् । मन्त्रीद्वय राणा र न्यौपानेले थारु समुदायको संस्कृतिका विषयमा थारु संग्राहलयमा धेरै जानकारी रहेको बताए ।

शहरी विकास तथा खानेपानीमन्त्री राणाले थारु समुदायको विषयमा थारु संग्राहलयको अवलोकनपछि धेरै कुराहरु जनकारी पाएको बताए । राणाले भने, ‘दाङ जिल्ला थारु समुदायको उद्गमस्थल भएको भन्ने सुनेको थिएँ । दाङमा थारु राजा रहेको थाहा थियो । थारु संग्राहलय हेरेपछि धेरै धेरै कुराको जानकारी थाहा पाएँ ।’

मन्त्री राणाले भने, ‘थारु संग्राहलय एक पटक हेर्नै पर्ने ठाउँ रहेछ । अझै यो संग्राहलयको विषयमा प्रचार प्रसारको आवश्यक्ता देखेको छु । मेरो मन्त्रालयबाट हुने सहयोग गर्न तयार छु ।’

मन्त्री राणाले संस्कृतिको संरक्षण गर्न सकिँदा मात्रै विकास र उन्नति हुने बताए । राणाले आफ्नो पहिचानलाई बचाउनुपर्ने पनि बताएका छन् ।

उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री न्यौपानेले थारु संग्राहलयमा थारु समुदायको संस्कृति, रहनसहनदेखि ईतिहाँस देखिएको बताए । न्यौपानेले भने, ‘थारु संग्राहलयलाई अझै परिस्कृत गरेर जानुपर्छ । प्रचार प्रसारको आवश्यक्ता छ । आन्तरिक पर्यटनलाई थारु संग्राहलयले धेरै टेवा पुग्ने देखेको छु ।’

मन्त्री न्यौपानेले दाङ जिल्लालाई थारु संग्राहलयले चिनाउनुपर्ने बताए । त्यसका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको न्यौपानेले बताएका छन् ।

संग्राहलयको अवलोकपछि कुरा गर्दै लुम्बिनी पर्यटन विकास परिषदका सदस्य सचिव रामु जोशीले थारु संग्राहलयले थारु समुदायको बारेमा धेरै जानकारी दिएको बताए । उनले संग्राहलयलाई परिषदले आवश्यक सहयोग गर्ने र प्रचार प्रसारमा पनि कार्यक्रम ल्याउने तयारी भइरहेको बताए ।

नेपाली कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको विशेष पहलमा थारु संग्राहलय बनेको थियो । संग्राहलयमा थारु समुदायको लोप हुन लागेका संस्कृतिलाई समेटेर सामग्रीहरु संरक्षण गरेर राखिएका छन् ।

थारुहरुको परम्परागत घर, गोठ, खलियान, खेतीपाती, कुन्टी, देउवापूजा लगायतको जानकारी संग्राहलयमा रहेका छन् ।

दाङको तुलसीपुरदेखि करीव ६७ किलोमिटर पश्चिममा रहेको थारु संग्राहलयले आन्तरिक पर्यटनलाई आकर्षित गरिरहेको छ । यो संग्राहलयको प्रचार प्रसार हुन सक्यो भने विदेशबाट पनि पर्यटक ल्याएर स्थानीयको आर्थिक अवस्था सुधार गर्न सकिनेछ ।

Published : Saturday, 2024 September 14, 6:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया