भावी पुस्तालाई सम्झेर वातावरण संरक्षणमा लाग्नुपर्छ : परराष्ट्रमन्त्री डा.राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले वातावरण विनास र जलवायु परिवर्तनका कारण मानवीय सङ्कट निम्तिएको बताएकी छिन् ।
शुक्रबार ललितपुरमा आयोजित हिमालयन क्षेत्रमा वातावरणीय परिवर्तन विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री डा.राणाले भोलिको पुस्ताका लागि पनि जोगाइ राख्नेगरी वातावरण संरक्षणमा लाग्न आग्रह गरेकी हुन् ।
उनले जलवायु परिवर्तनको असर नेपाल र नेपालमात्र नभएर हिमालय क्षेत्रमा अवस्थित देशहरुमा समेत अकल्पनीय रुपमा देखा परिरहेकोतर्फ सचेत हुनु पर्ने बताएकी छिन् । उनले भावी पुस्तालाई सम्झेर वातावरण संरक्षणमा लाग्नुपर्ने बताएकी छिन् ।
मन्त्री डा.राणाले जलवायु परिवर्तनका कारण द्रुत रुपमा हिमाल पग्लिरहेका र यसले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको पर्यावरणीय चक्रमा नै नकारात्मक प्रभाव पारेको बताएकी छिन् ।
जलवायु परिवर्तनको असर विशेषगरी हिमाली क्षेत्रका अतिरिक्त महिला र बालबालिकामा समेत परेकाले यी विषयमा व्यापक मात्रामा अनुसन्धान गरी आवश्यक तथ्य र सूचनाका आधारमा समाधानका उपायहरु अवलम्बन गर्नुपर्ने परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।
‘प्रभावित क्षेत्रमा जलवायु परिवर्तनको असर कम गर्न त्यहाँका समुदाय लक्षित कार्यक्रम तत्कालै थाल्नुपर्छ’, डा.राणाले भनिन्, ‘यो असर हाम्रो देशमा मात्र नभएर हिमालयन क्षेत्रमा अवस्थित देशहरुमै भइरहेकाले सबै सामूहिक रुपमा लाग्नुपर्छ ।’
मन्त्री डा.राणाले हिमाली क्षेत्रमा हिमाल पग्लिने, हिमनदी बढ्ने र हिमताल फुट्ने, भीषण वर्षा हुने र बाढी आउने गरेको बताएकी छिन् ।
उनले जलवायु परिवर्तनबाट हिमाली क्षेत्र बढी जोखिममा परेकाले सो क्षेत्रलक्षित कार्यक्रमहरु सुरु गर्न अन्तर्राष्ट्रिय समुदायले ढिला गर्न नहुने बताएकी छिन् ।
जलवायु परिर्तनबाट उत्पन्न हुने र भइरहेको प्रभाव सीमाविहीन हुने भएकाले यसको असर कम गरेर हिमालको भविष्य बचाउन र यसमार्फत् समग्र मानव सभ्यताकै संरक्षण गर्न अन्तर्राष्ट्रिय समुदाय नै लाग्नुपर्ने मन्त्री डा.राणाले बताएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले अन्तर्राष्ट्रिय समुदायलाई हिमालय क्षेत्रको अस्तित्व र भविष्य जोगाउनका लागि लागिपर्न आग्रह गरेकी छिन् । उनले नेपाल सरकारले ‘सगरमाथा सम्वाद’ कार्यक्रम आयोजना गर्ने तयारी थालेको बताएकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया