रवि लामिछानेका पार्टनरसहित हाइलेबलका २५ जना सहकारी ठगलाई विदेशबाट खोजेर झिकाउने निर्देशन
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले रकम अपचलन र ठगी गरेर विदेशतिर फरार रहेका २५ जना हाइलेबलका ठगहरुलाई खोजविन गरेर ल्याउन निर्देशन दिएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग गरी विदेश फरार भएका २५ जनाको खोजबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले विदेशमा फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई), भरत महर्जन लगायत २५ जनाको खोजबिनमा आवश्यक जनशक्ति परिचालन गरी अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको छ ।
समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरी नायव महानिरीक्षक जनक भट्टराईलाई आमन्त्रित गरिएको र विदेशमा फरार रहेका जीबी राई, भरत महर्जनसहितका २५ जना व्यक्तिहरुको बारेमा सरकारले खोजबिनका सन्दर्भमा के–के प्रगति हासिल भयो भनेर जानकारी लिएको बताएका छन् ।
उनले गृह मन्त्रालयले पहल गरेर नेपाल प्रहरीका दुई जना अधिकृतलाई मलेसिया पठाएको र त्यहाँ आवश्यक समन्वय र कोसिस गरेको जानकारी पाएको पनि बताए ।
थापाले राजनीतिक नेतृत्व तहमा कुरा भइसकेको विषय भएकाले प्रहरी र इन्टरपोलको माध्यमबाट गरिने विषयभन्दा फरक स्थितिमा रहेको भन्ने जानकारी गृह मन्त्रालयले दिएको बताए ।
विदेश फरार हुनेमा २५ जना रहेकोमा पुनः दुई जनालाई थप गरी (सूर्यदर्शन सहकारीको लेखा प्रमुख बुद्धि गुरुङ, आर्जन वचत तथा ऋण सहकारीको फरार सचिव विदेशमा रहेको भनिएको दीपक थापा) गृह मन्त्रालयलाई पत्राचार गरिएको बताएको बताएका छन् ।
विदेश फरार रहेका जीबी राई गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका विज्नेश पार्टनर हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया