लुम्बिनी प्रदेशले पर्यटन दूत नियुक्त गर्ने, बैठकमा नआउने सदस्यलाई हटाउने
मसुरिया । लुम्बिनी प्रदेशको पर्यटन विकासका लागि सकारले अवैतनिक पर्यटन दूत नियुक्त गर्ने भएको छ ।
लुम्बिनी प्रदेश सरकारले पर्यटन विकासका लागि अवैतनिक पर्यटन दूत नियुक्त गर्न थालेको यो पहिलो पटक हो । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले लुम्बिनी प्रदेशको पर्यटन विकासका लगि अवैतानिक पर्यटन दूत नियुक्त गर्ने निर्णय गरेको छ ।
उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डबिक्रम न्यौपानेले आफ्नो मन्त्रालय मातहतका पर्यटन विकास परिषदमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि पर्यटन दूत नियुक्त गर्न लागेको बताए ।
न्यौपानेले भने, ‘प्रदेशको पर्यटन विकासका लागि यहाँको पर्यटकीय क्षेत्रहरुको प्रवधर्न गर्न सहयोग पुगोस् भन्ने उदेश्यले अवैतनिक पर्यटन दुत नियुक्त गर्ने निर्णय गरिएको छ ।’
अन्तर्राष्ट्रियस्तरमा नियुक्त हुने पर्यटन दूतहरूले प्रदेशको पर्यटकीय क्षेत्रका बारेमा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नेछन् । राष्ट्रियस्तरका पर्यटन दूतले प्रदेशको चिनारी राष्ट्रियस्तरमा गराउन भूमिका खेल्ने छन् ।
व्यक्तिलाई दूतका रुपमा नियुक्त गर्ने र उनीहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारे कार्यविधि निर्माण गरेर टुङ्गो लगाइने लुम्बिनी पर्यटन विकास परिषदका सदस्यसचिव रामु जोशीले बताए ।
जोशीले भने, ‘पहिला अवैतनिक दूतका रुपमा नियुक्त हुने व्यक्तिहरुको मापदण्ड बनाउनु पर्यो । उहाँहरूले गर्नुपर्ने जिम्मेवारी स्पष्ट हुनु पर्यो । यसका लागि कार्यविधि निर्माणको काममा जुटेका छौँ ।’
लुम्बिनीको पर्यटन विकासका लागि गठन भएको पर्यटन विकास परिषदको ऐन तयार गर्न मन्त्रालयले प्रकृया अगाड बढाउने र परिषदको बैठकमा तीन पटक वा त्योभन्दा बढि बैठकमा सहभाग नहुने परिषदका मनोनीत सदस्यहरूलाई परिषदका अध्यक्ष (मन्त्री)ले हटाउन सक्ने निर्णय समेत गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया