माल्टा, अष्ट्रेलिया, दुवई, क्रोएसिया, जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ३ पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा, अष्ट्रेलिया, दुवई, क्रोएसिया, जापान लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ४८ वर्षीय श्याम श्रेष्ठ, पर्साको ठोरी नगरपालिका–१ नयाँगाउँ घर भई काठमाडौंको नागार्जुन नगरपालिका–९ स्युचाटार बस्ने ४० वर्षीया शोभा तामाङ र तनहुँको बन्दिपुर गाउँपालिका–७ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–७ मनमैजु बस्ने ३९ वर्षीय अमृत माकिम थापा रहेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउमध्ये श्यामले ३ जना पीडितबाट ६ लाख ५५ हजार रूपियाँ, शोभाले ३ जना पीडितबाट ६ लाख १५ हजार रूपियाँ र अमृतले १ जना पीडितबाट ३ लाख रूपियाँ लिई सम्पर्कबिहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले श्यामलाई काठमाडौंको थानकोट, शोभालाई स्युचाटार र अमृतलाई टेकुबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता समेत रहेका एसपी काजीकुमार आचार्यले बताएका छन् ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया