उपमहासचिव मेटमणि चौधरीलाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन आदेश

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले उपमहासचिव मेटमणि चौधरीले दिएको नेपाली भूमिबारे विवादस्पद अभिव्यक्तिप्रति स्पष्टीकरण सोधेको छ ।

सोमबार टेलिभिजन अन्तर्वार्तामा चौधरीले नेपाली भूमि लिपुलेक, कालापानी भारतको भएको अभिव्यक्ति दिएका थिए ।

नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले चौधरीलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आदेश दिएका छन् ।

महासचिव भूसालले स्पष्टीकरणमा सोधका छन्, ‘गत भदौ २५ गते साँझ प्राइम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा तपाईंले लिपुलेक र कालापानीमाथि इण्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ । मलाई लाग्छ दाबी पुग्छ उसको, दाबी पुग्छ, भारतले लिन पाउँछ, (कालापानी र लिपुलेक) भारतको हो भन्नु भएको रहेछ ।’

पत्रमा लेखिएको छ, ‘अनेकौं तथ्यहरूले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन् । हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वविदित नै छ । त्यसविपरीत, मुलुकको अखण्डता र सर्वभौमसत्ताका विरुद्ध तपाईंले किन बोल्नुभएको हो ? यसबारे तीन दिनभित्र लिखित रुपमा स्पष्टीकरण दिनु होला ।’

Published : Thursday, 2024 September 12, 10:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया