आईजीसी बिजनेस होल्डिंग नेपाल र केइरिनकन जापानबीच आईटी क्षेत्रमा संयुक्त लगानीको सम्झौता
काठमाडौं । नेपाल र जापानबीचको सम्बन्धलाई थप सुदृढ गर्ने महत्वपूर्ण कार्यक्रमको रूपमा आईजीसी बिजनेस होल्डिंग नेपाल र केइरिनकन कं. लि. जापानबीच सूचना प्रविधि (आईटी) क्षेत्रमा संयुक्त लगानीको लागि सम्झौता सम्पन्न भएको छ ।
सम्झौताले दुई राष्ट्रबीचको प्रविधि सम्बन्धको नयाँ युगको सुरुवातको संकेत गरेको विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका उद्योगमन्त्री दामोदर भण्डारी रहेका थिए । भण्डारीले आफ्नो सम्बोधनमा भने, ‘नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको छ । हामी यस क्षेत्रमा लगानी भित्र्याउन आवश्यक सहयोग प्रदान गर्न प्रतिबद्ध छौं र लगानीकर्ताहरूको लागि सकारात्मक वातावरण सिर्जना गर्न सरकार तयार छ ।’
उनले वैदेशिक लगानीकर्ताहरूलाई प्रोत्साहन गर्दै सूचना प्रविधि क्षेत्रलाई प्रगति गराउन नेपाल सरकार तयार रहेको कुरामा जोड दिएका छन् ।
विशेष अतिथिहरूमा पूर्वमन्त्री पदम गिरी र जापान राजदूतावासका प्रतिनिधि प्रथम सचिव यासुयुकी योकोयामा उपस्थित पनि रहेका थियो ।
कार्यक्रमको अध्यक्षता आईजीसी बिजनेस होल्डिंगका अध्यक्ष गणेशमान लामाद्वारा गरिएको थियो ।
आईजीसी बिजनेस होल्डिंगका अध्यक्ष गणेशमान लामाले भने, ‘आजको कार्यक्रम केवल सम्झौतापत्रमा हस्ताक्षरको मात्र होइन, यो नेपाल र जापानबीच सहकार्य, विकास र साझा दृष्टिकोणको यात्रा हो । यो सूचना प्रविधि क्षेत्रमा हाम्रो प्रतिबद्धता नेपाललाई डिजिटल रूपान्तरण र प्राविधिक नवप्रवर्तनतर्फ लैजाने काममा सहयोग पुर्याउनेछ ।’
केइरिनकन कं. लि.का अध्यक्ष तथा सीईओ सतोशी सातोले पनि यस संयुक्त लगानीप्रति आफ्नो उत्साह प्रकट गर्दै, यो सहकार्यले व्यापारिक सम्बन्धलाई मात्रै नभई नेपाल र जापानबीचको गहिरो द्विपक्षीय सम्बन्धलाई पनि मजबुत बनाउने बताए । उनले यस साझेदारीको माध्यमबाट नेपालमा आफ्नो व्यवसाय विस्तार गर्ने इच्छा व्यक्त गरेका छन् ।
कार्यक्रमका समन्वयक तथा मिडनाइट टेक्नोलोजीका सीईओ योशिकावा युसुकेले सबै सहभागीहरूलाई स्वागत गर्दै यस सहकार्यले नेपालको प्रविधि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।
आईजीसी बिजनेस होल्डिंगका अध्यक्ष गणेशमान लामा र केइरिनकन कं. लि.का अध्यक्ष तथा सीईओ सतोशी सातोले औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर गरेका छन् । दुवै पक्षले नेपाललाई डिजिटल रूपान्तरणको मार्गमा अघि बढाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो संयुक्त लगानीले नेपालको डिजिटल रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । विशेष गरी सूचना प्रविधि क्षेत्रमा नवीनता ल्याउन केन्द्रित रहनेछ ।
कार्यक्रमको समापन दुवै पक्षले आपसी प्रगति र सफलताको लागि मिलेर काम गर्ने प्रतिवद्धतासहित सम्पन्न भएको थियो । जसले नेपाल र जापानबीचको मित्रता र सहकार्यलाई अझ मजबुत बनाउनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया