सार्वजनिक खरिद ऐन विपरित नजान लुम्बनीका मुख्यमन्त्रीलाई कांग्रेस सांसद खाँको चेतावनी
मसुरिया । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभा सदस्य बसिउद्धिन खाँले लुम्बिनी प्रदेश सरकारले ५ लाखभन्दा माथिको टेण्डर गर्ने गरेर सार्वजनिक खरिद ऐन विपरित ल्याएको व्यवस्था खारेज गर्न माग गरेका छन् ।
बिहीबार देउखुरीको मसुरियास्थित प्रदेश सभाको बैठकमा विशेष समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका प्रदेशसभा सदस्य खाँले मुख्यमन्त्री चेतनारायण आचार्यलाई सार्वजनिक खरिद ऐन विपरित नजान आग्रह गरे । उनले उपभोक्ताले धेरै राम्रो कामहरू गरिरहेको उनले बताएका छन् ।
पूर्वमन्त्री खाँले भने, ‘५ लाखभन्दा माथिको टेण्डर गर्ने भनेर ल्याएको परिपत्र तत्काल खारेज गरेर १ करोडसम्म उपभोक्ताले काम गर्न पाउने प्रावधानलाई कार्यान्वयन गर्न माग गर्दछु ।’
उनले भने, ‘म शिक्षामन्त्री हुँदा विद्यालयलाई बजेट हुन्थ्यो दुई कोठालाई २० लाख । दुई लाखमा उपभोक्ताले रङरोगन गरिदिन्थे । अहिले पिलर उठेको छ । काम भएको छैन । उपभोक्तालाई अन्याय भएको छ । काम पनि पूरा हुँदैन । त्यो समस्या छ ।’
‘हामीलाई बजेट विनियोजन हुने बेला भनिएको थियो । सानोतिनो पाटी, पौवा होला, मठ, मन्दिर होला । त्यसमा सरकारले ५ लाख दिन्छ भने ५ लाख आफ्नो गोजीबाट पनि थप्नु पर्छ भनेर समयमा काम गर्ने गर्नुभएको छ’, प्रदेशसभा सदस्य खाँले भने ।
‘सार्वजनिक खरिद ऐनमा १ करोडसम्म उपभोक्ता समितिमार्फत काम गराउने सक्ने प्रावधान छ । ५ लाखभन्दा माथिको टेण्डर गर्ने कुरा गर्नुभएको छ त्यो गलत हो । त्यो कार्य नगर्नुस्’, खाँले भने ।
‘हामी निर्वाचन लडेर आएको मान्छे । हामीले जनतालाई आश्वासन दिएका छौं । मन्दिरमा यति बजेट, स्कुलमा यति बजेट त्यहाँको उपभोक्ताले काम गर्ने अवसर पाए भने हामीले दिएको बजेटमा दश प्रतिशत थप गरेर उहाँहरूले काम गर्नु हुन्छ’, उनले भने ।
‘ठेकेदारहरूले ठ्याक्कै १५ प्रतिशत पीसी राख्छ । टेण्डर पनि हुन्छ की हुँदैन ? काम हुन्छ की हुँदैन ? मेरै क्षेत्रमा टेण्डर भएको कामहरू अलपत्र परेको अवस्थामा छ’, उनले भने ।
कांग्रेसका प्रदेशसभा सदस्य खाँ प्रदेश उर्जा कार्यालय घोराही वा तुलसीपुरमा सार्न लागेको भन्दै मुख्यमन्त्री आचार्यलाई सचते गराएका छन् । उनले बुटवलबाट उर्जाको कार्यालय नर्सान आग्रह गरेका छन् ।
उनले भने, ‘आज यो सरकारबाट एउटा षड्यन्त्र भइरहेको छ । तत्कालीन मुख्यमन्त्री जोखबहादुर महराको सरकार हुँदा प्रदेश उर्जा कार्यालय रुपन्देहीको बुटवलमा स्थापना गर्ने भन्ने थियो ।’
पूर्वमन्त्री खाँले भने, ‘पाल्पा, नवलपरासी, रुपन्देही, अर्घाखाँची, गुल्मीलाई पायक पर्छ भनेर कार्यालय खोल्नका लागि ओएनएम पनि पास गरियो । प्रस्ताव जोखबहादुर महराको सरकारले गरेको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यले पास गर्नुभएको छ ।’
‘त्यो कार्यालयलाई दाङको घोराहीमा साने रे ? अथवा तुलसीपुरमा सार्ने रे ? यो सरकार बनाउन, तपाईलाई मुख्यमन्त्री बनाउन हाम्रो पनि दायित्व छ । समर्थन गरेका छौँ । हामीलाई सडकमा गएर विरोध गर्न नपरोस् । प्रदेश उर्जा कार्यालय बुटवलमा नै स्थापना होस्’, उनले चेतावनी शैलेमा भने ।
उनले रुपन्देहीको मर्चवार क्षेत्रमा विद्युतीय उपकरणहरू समेत चल्न नसक्ने गरेर बिजुली दिएको भन्दै आक्रोश पोखेका छन् ।
उनले भने, ‘हाइटेन्स गएको ठाउँमा विकास गर्नुपर्छ । भारतसँग बिजुलीको व्यापार गर्नुपर्ने भनेर रुपन्देहीको मर्चवारमा हाइटेन्स बनेको थियो । मर्चवारबासीले चलन चल्तीभन्दा न्यून मूल्यमा सरकारलाई जग्गा दिइएको छ । अहिलेसम्म मुअब्जा पाएका छैनन् ।’
‘मर्चवारमा बिजुली राम्रोसँग उपभोग गर्न पाइएको छैन । उपकरणहरू पनि चलेको छैन । मर्चवार लगायतका क्षेत्रमा बिजुली उपकरणहरू चल्ने गरेर बिजुलीको आपूर्ति गर्नुपर्छ । यसको समाधान भएन भने मर्चवार क्षेत्रमा पोल र तार रहँदैनन्’, पूर्वमन्त्री खाँले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया